मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमालेमा नीति र सिद्धान्तभन्दा पनि जीत, हार तथा जुँगाको लडाइँ चलिरहेको छ । यसअघि नेकपा हुँदा प्रचण्ड–नेपाल र ओलीबीच कुर्सीको लडाइँ भएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा मुख्य नेतृत्व प्रचण्ड र ओलीले हाँकेको भएपनि प्रचण्डलाई ओलीले नचाइरहेका थिए ।

जसोजसो ओली, त्यसोत्यसो प्रचण्ड गरिरहेका थिए । प्रचण्डले जे भने त्यही कुरालाई माओवादी केन्द्रले शिरोपर गर्दै थियो । प्रचण्ड भने ओलीको कुरामा समर्थन जनाउँदैमा ठीक्क थिए । खासगरी प्रधानमन्त्रीको पाँच वर्षे अवधिमा ओली पहिलो अढाई वर्ष प्रधानमन्त्री रहने र प्रचण्ड पछिल्लो अढाई वर्ष प्रधानमन्त्री बन्ने भद्र सहमति भएको थियो । ओलीले पछि चातुर्यपूर्ण तरीकाले प्रचण्डलाई कार्यकारी अध्यक्ष नामको कागजी घोडा दिएर पाँचै वर्ष आफैंले चलाउने योजना बनाए ।

विधानमा उल्लेख नभएको कार्यकारी अध्यक्षको जिम्मेवारी प्रचण्डलाई दिइयो तर पार्टीका सम्पूर्ण काम तथा योजना निर्माण र सञ्चालन भने ओली आफैंले गरिरहे ।

ओली नेतृत्वको मन्त्रिमण्डलमा नेता भीम रावलले गृहमन्त्रीको सपना देखेका थिए । तर ओली र प्रचण्डले उक्त जिम्मेवारी रामबहादुर थापा बादललाई दिएपछि प्रतिशोधको आगो बालिरहेका रावलले हरेक प्रसङ्गमा आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकारमाथि प्रहार गर्न शुरू गरे । द्वन्द्व यति बढ्दै गयो कि प्रचण्ड र ओली पक्षबीच विपरीततर्फ तीव्र धु्रवीकरण भयो ।

अन्ततः यसले नेकपा विभाजन गराएरै छाड्यो । गुटको प्रमुख प्रचण्ड रहे पनि झगडाको प्रमुख एवं बिजारोपण रावलबाट भएको हो । गृहमन्त्रीको कुर्सीकै लागि भएको झगडा बढ्दैै प्रधानमन्त्रीको कुर्सीसम्म पुग्यो । माओवादी केन्द्र र नेकपा एमाले पार्टी छुट्टिएपछि हाल एमालेमा भएको झगडा भने जुँगाको झगडा हो ।

नेपाल–खनाल समूहलाई पार्टीमा फर्कन एक किसिमको ग्लानि थियो, अहिले पनि छँदैछ । त्यो लाज ढाक्नका लागि उनीहरू जसरी पनि आफू ठीक भन्ने देखाउन प्रयत्नशील छन् ।

त्यसैगरी, ओली पनि प्रचण्डलाई आफूले धोखा दिंदा भएको दुर्गतिबाट लाज ढाक्नका लागि आफू जे छु ठीक छु भन्ने देखाउन चाहन्थे । आउँदो चुनाव र पार्टीको महाधिवेशनमा समेत उनीहरूको क्रियाकलापबारे मूल्याङ्कन हुने हुँदा आफूहरूलाई सही साबित गर्न उनीहरू लागिपरेका छन् ।

ओलीलाई गलत साबित गराउन प्रधानमन्त्रीको कुर्सीबाट खसाल्नेदेखि पार्टीको आन्तरिक पक्षहरूमा ब्याक गियर लगाउन नेपालले बाध्य पारे । यसमा नेपाल पक्षले जीत ठानेका छन् । अर्कोतर्फ ओलीले पनि सरक्क कुर्सी छोड्नुभन्दा बिरालोले मुसो खेलाए जस्तो खेलाइखेलाइ थकित पारे ।

हिजोको अवस्थामा ओलीले छोड्दा प्रचण्ड प्रम बन्ने निश्चित थियो । ओलीकै खेल र झेलको कारण आज कुर्सी देउवाको पोल्टामा प¥यो । प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिने लक्ष्यमा ओली सफल भए । उनले यसैलाई जीत ठानेका छन् ।

वास्तवमा ओली र नेपाल पक्ष दुवै घाती हुन् । आफूमाथि चढ्न वा आफू श्रेष्ठ कहलिनका लागि जस्तोसुकै र जुनसुकै हदसम्म खस्न पनि पछि नपर्ने दुवै पक्ष एकै ड्याड्ढा हुन् ।

सङ्गठन निर्माण गर्नेभन्दा पनि बिगार्नमा अहोरात्र लागिरहने बानी परेका र एउटै दलभित्रका सदस्यलाई अर्को दलका सदस्यभन्दा पनि निकृष्ट व्यवहार गर्ने यी दुई पक्षबीच फुट्नु र जुट्नुले कुनै अर्थ राख्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here