प्रस, वीरगंज, ३१ असार/
वीरगंज महानगरपालिकामा सञ्चालित सघन शहरी विकास आयोजनाको काम कोरोनाको कारण फेरि लम्बिएको छ ।
एशियन विकास बैंक, नेपाल सरकार र वीरगंज महानगरपालिकाको संयुक्त लगानीमा सञ्चालित योजनाको काम यस अघि ८ महीना थप भएको थियो । थप भएको ८ महीनाको अवधि यही असारमा सकिएको तर आयोजनाको काम अहिले पनि ८ प्रतिशत बाँकी रहेकोले पुनः तीन महीना थप गर्न पहल शुरू भएको छ ।
गत डिसेम्बरसम्म यो काम सम्पन्न हुनुपर्नेमा कोरोनाको कारण पहिलोपटक ८ महीना थप भएको थियो । अहिले पुनः दुई महीनाको निषेधाज्ञामा काम ठप्प भएपछि योजना तोकिएको समयमा सम्पन्न हुन नसकेको हो ।
कालिका कन्स्ट्रक्शनका प्रबन्धक ठाकुर ढकालले योजनाको काम अन्तिम चरणमा भएको र अहिले करीब ९२ प्रतिशत काम सम्पन्न भइसकेको दाबी गरे । उनले कोरोनाको कारण काममा ढिला हुन गएको बताए । कोरोनाको जोखिम बढेकोले विकास योजनाको काम प्रभावित भएको समयमा काम सम्पन्न हुन नसकेको उनले बताए ।
सघन शहरी विकास आयोजना अन्तर्गत १८ किलोमिटर कालोपत्र गर्नुपर्ने र १४ किलोमिटर इँटा प्रयोग गरी नाला बनाउनुपर्ने तथा फूटपाथ निर्माण गर्नुपर्ने थियो ।