प्रस, वीरगंज, ३० असार/
वीरगंज महानगरपालिकालाई पार्क निर्माण फापेको छैन । तीन दशक पहिले लक्ष्मणवामा बनेको वीरेन्द्र पार्क हालसम्म सञ्चालनमा आउन सकेको छैन ।
शहरी क्षेत्रभन्दा बाहिर भएकोले सो पार्क अहिलेसम्म सञ्चालनमा आउन नसकेपछि त्यहाँ कालिका कन्स्ट्रक्शनको कार्यालय सञ्चालन गराइएको छ । विगत केही वर्षदेखि वीरेन्द्र पार्कमा कालिकाले डेरा जमाएर बसेको छ ।
यसैगरी, करीब २५ वर्ष पहिले वीरगंज महानगरको स्वामित्वमा आएको विपी उद्यान पनि अहिलेसम्म निर्माण नै हुन सकेको छैन । दश वर्ष पहिले विपी उद्यान निर्माणको लागि महानगरपालिकाले डिपिआर तयार गरेको थियो ।
सो डिपिआर अनुसार अहिले बल्ल पर्खाल लगाउने र ढलान गर्ने काम शुरू भएको छ । करीब रु एक अर्ब लगानी लाग्ने विपी उद्यानमा अहिले अढाई दशकपछि बल्ल रु तीन करोड २० लाखको लगानीमा निर्माण कार्य भइरहेको छ ।
शहरी सघन तथा भवन निर्माण आयोजना अन्तर्गत निर्माण शुरू भएको विपी उद्यानमा जग्गाको विषय र निर्माणको विषयलाई लिएर छुट्टाछुट्टै परेको रिटमा अदालतले रोक्का आदेश जारी गरेको छ ।
११ सय मिटर पर्खाल निर्माणमा ८ सयजति सम्पन्न भएको र ४ हजार वर्गफिट ढलान कार्यमा ३४ सय वर्गफिट ढलान भइसकेको र ६ सय वर्गफिट ढलान हुन बाँकी हुँदा अदालतले रोक्का गरेको छ ।
यसैगरी, मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत एशियाली विकास बैंकको सहयोगमा माईराम पोखरीमा निर्माण गरिएको चिल्डे«न पार्कको उद्घाटन भएको पनि तीन वर्ष बितिसकेको छ ।
नगरप्रमुख विजयकुमार सरावगीले २०७५ असोज २० गते चिल्डे«न पार्कको उद्घाटन गरेका थिए। तर उद्घाटन भएको तीन वर्ष भइसक्दा पनि महानगरपालिकाले पार्क सञ्चालनमा ल्याउन सकेको छैन ।
सो पार्कमा बिहान मर्निङ वाक गर्नेबाहेक कुनै पनि गतिविधि हुन सकेको छैन । त्यहाँ बनेका भौतिक संरचनाहरू एकपछि अर्को बिग्रने क्रममा छन् ।
निजी क्षेत्रको संलग्नतामा पार्क सञ्चालन गर्ने महानगरको योजना अनुसार सिलबन्दी टेन्डर निकाल्दा पनि कसैले टेन्डर भरेन ।