प्रस, वीरगंज, ३० असार
ठोरी गाउँपालिकाको छैटौं गाउँसभा विवादका बीच साउन १३ गतेसम्मको लागि स्थगित भएको छ ।
बहुमत सदस्यहरूले गाउँसभा शुरू गर्नुपूर्व चालू आवको सम्पूर्ण आय–व्यय विवरण सार्वजनिक गर्न माग गर्दै नाराबाजी गरेका थिए । उनीहरूको विरोधका कारण उद्घाटन सत्र शुरू भएलगत्तै दुई घण्टाको लागि स्थगित भएको थियो ।
गाउँसभामा सदस्यहरूले अघिल्लो वर्ष घाटा बजेट प्रस्तुत भएको, सम्पन्न भएका योजनाहरू गाउँसभाबाट पारित नभएको भनेर भुक्तानी रोकिएकोलगायतका विषयमा सदस्यहरूले विवाद गरेपछि केहीबेर सभा स्थगित गर्नुपरेको थियो ।
वडा नं २ का सदस्य श्यामहरि शर्मा र अमृतकृष्ण सापकोटाले सदस्यहरूलाई गुमराहमा राखेर बजेट पास गर्न खोजेको आरोप लगाए ।
वडाध्यक्ष किशोर तामाङ, रामबहादुर पाख्रिनले गाउँसभा सञ्चालनमा कमजोरी भएकोले आर्थिक वर्षको विवरण सार्वजनिक गर्न माग गरिएको बताए ।
गापा अध्यक्ष पद्मलाल श्रेष्ठले जवाफ चित्तबुझ्दो नदिएपछि गाउँसभा स्थगित भएको थियो र दुई घण्टापछि सहमतिमा शुरू भयो । तर गापा अध्यक्ष श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरे अनि खाजापछि शुरू भएको गाउँसभामा बजेट भाषण भने हुनै नपाई साउन १३ गतेसम्मको लागि सभा स्थगित गरिएको छ ।
गापा उपप्रमुख शान्तिमाया थिङले रु ५८ करोड ९७ लाखको बजेट प्रस्तुत गर्ने क्रममा विवाद भएपछि गाउँसभा स्थगित भएको हो ।