प्रस, निजगढ, ३० असार
निजगढ नगरपालिका–४ बागदेवस्थित बागभैरव सामुदायिक वन उपभोक्ता समूहले वनक्षेत्रभित्र पोखरी निर्माण गरेपछि आकाशे पानीको निकास थुनिएको भनेर स्थानीयले विरोध गरेका छन् ।
अहिले पोखरी खनिएको नदी उकास जमीनलाई संरक्षण गरेसँगै स्थानीय बागभैरव युवा क्लबले सो जमीन पहिल्यैदेखि नै ठेक्कामा लगाउँदै आएको थियो ।
वार्षिक रु २८ हजार रकम बुझाउने गरी पाँच वर्षका लागि क्लबले ठेक्का लिए पनि ठेक्का अवधि पूरा नहँुदै वन समूहले पोखरी खन्न थालेको जमीन ठेक्का सकार गर्ने स्थानीय सूर्यबहादुर खड्काले बताए ।
यता, वन समूहले बाली मासिएबापतको क्षतिपूर्ति उपलब्ध गराउने भनेकोमा अहिलेसम्म क्षतिपूर्ति नपाएको खड्काले गुनासो गरे ।
खनिएको पोखरीका कारण नजीकैको खेतीयोग्य जमीन वर्षामा डुबान हुँदा बालीनालीमा क्षति पुगेको प्रेमबहादुर तिमल्सिनाले बताए । उनले आफ्नो ५र७ कट्ठा खेतबारी पनि डुब्ने चिन्ताले सताएको बताए ।
डिभिजन वन कार्यालय, बाराले रु २८ लाख ५० हजारको लागतमा सो पोखरी निर्माण गर्न वन समूहसँग सम्झौता गरेको वन अधिकृत एवं डिएफओ मन्जुर अहमदले जानकारी दिए । जुन उद्देश्यले पोखरी खन्न वन कार्यालयमार्फत सरकारको रकम लगानी गरेको छ, सो उद्देश्य पूरा हुने गरी पोखरी निर्माण सम्पन्न हुनुपर्ने डिएफओ अहमदको भनाइ छ । पोखरी खन्दा ग्रेभल मात्रै भेटिएकाले पानी जमाउन कम्तीमा ६ इन्च मोटाइको माटो भर्न वन समूहका अध्यक्ष सुदर्शन लामिछानेलाई जानकारी गराएको उनले बताए ।
एक्साभेटरले खनी पोखरी बनाएर मात्रै छोड्न थालेपछि अघिल्लो वर्षको जस्तै उपलब्धिहीन पोखरी हुने भन्दै स्थानीय उपभोक्ताले विरोध गरेपछि डिएफओ अहमदले पोखरीमा माटो भर्न निर्देशन दिएका छन् ।
उक्त पोखरीको पश्चिमतर्फ कुलोमा दुई सय मिटरभन्दा बढी लम्बाइको करिब २८५ घनमिटरको सिमेन्टेड ढुङगाको गारो लगाएको सन्तोष ज्ञवालीले बताए ।
पोखरी निर्माणबाट राम्रो रकम बच्ने भएकोले वन समूहका अध्यक्ष सुदर्शन लामिछाने पोखरी खन्ने काममा हौंसिएको उपभोक्ताहरूको आरोप छ । यसबारेमा प्रतिक्रिया लिन खोज्दा अध्यक्ष लामिछाने सम्पर्कमा आएनन् ।
लगभग दुई बिघा क्षेत्रफलमा खनिएको पोखरीमा ग्रेभल मात्र भेटिएपछि पोखरीमा पानी नजम्ने र नाम मात्रको पोखरी हुने गाउँघरमा चर्चा चलेको छ ।
अघिल्लो वर्ष पनि सोही वनक्षेत्रमा खनिएको पोखरीमा पानी जमेको थिएन । वन समूहका सल्लाहकार हस्तबहादुर कार्कीले समूहले गर्ने कामको बारेमा आफूलाई जानकारी नगराइएको गुनासो गरे ।
अहिले पोखरी खनिएको जमीनमा फलफूलको बगैंचा बनाउन सकिएको भएपनि वार्षिक लाखौं रकम वन समूहलाई आम्दानी हुन सक्थ्यो । आसपासका खेतबारीमा वर्षे पानीले डुबान पनि हुँदैनथ्यो ।
त्यसमाथि नदी उकास जमीनले आसपासका जमीन र बस्ती सुरक्षित हुन थप मदत पुग्ने देखिन्छ । अपारदर्शी काम र सोझासाझा उपभोक्ताहरूका आवाजलाई जबरजस्ती दबाउने काम केही वर्षदेखि भइरहेकाले उपभोक्ता सन्तुष्ट देखिंदैनन् ।
अध्यक्ष लामिछाने आफूले मात्र भनेको काम गर्दै आएका बागभैरव सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रुद्र तिमल्सिनाको आरोप छ । उनले आम उपभोक्ताहरूको सुझाव, सल्लाहलाई लिएर संस्थागत विकासमा लाग्नुपर्ने बताए ।