प्रस, परवानीपुर, ३० असार

श्रीसिया खोलामा भारतीयले पक्की भ¥याङ बनाएपछि नेपाली भूभागलाई खोलाले कटान गर्न शुरू गरेको छ । वीरगंज महानगरपालिकाको वडा नं १ छपकैयास्थित सयौं बिघा जग्गा खोलाले कटान गर्ने क्रम शुरू गरेको छ ।

भारतीयको बदमाशीका कारण वीरगंज–रक्सौल बग्ने श्रीसिया खोलाले नेपाली भूभाग कटान शुरू गरेको हो । सीमा स्तम्भ ३९१ र ३९२ बीचको जग्गा कटान गर्दै खोलाले अहिले छपकैयाको सयौं बिघा जग्गा कटान गर्ने जोखिम बढेको छ ।

भारतीय सीमा क्षेत्रमा रहेका ब्रह्मबाबा र सातोमाई मन्दिरलाई जोडेर श्रीसिया खोलासम्म पक्की भ¥याङ निर्माण भएपछि खोलाले पहिलेको स्थानबाट बहाव परिवर्तन गर्दै नेपाली भूभागतर्फ मोडिएको स्थानीयहरूको भनाइ छ ।

यस विषयमा स्थानीय जनप्रतिनिधिले कुनै चासो नदेखाएकाले स्थानीयले गुनासो गरेपछि नेकपा माओवादी केन्द्र वीरगंज नगर कमिटी अध्यक्ष रहबर अन्सारीको सक्रियतामा सुरक्षा अधिकारी र सञ्चारकर्मीहरूले सो क्षेत्रको स्थलगत अनुगमन गरेका थिए ।

पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, दलका नेता, सञ्चारकर्मी सम्मिलित टोलीलाई प्रभावित स्थानीयहरूले सो खोलाले नेपाली भूभाग कटान गरिरहेको समस्या अवगत गराएका थिए । नेपाल–भारत संयुक्त नापी टोलीले सीमा क्षेत्रमा सीमा राख्ने काम हाल स्थगित गरे तापनि भारतीय एसएसबीले चेकपोस्टको नाममा सीमास्तम्भ गाडेको स्थानीयले बताए ।

नेकपा माओवादी केन्द्र वडा नं १ का अध्यक्ष रवीन्द्र महतो कोइरीले भारतीय एसएसबीले सीमामा पटक–पटक दुःख दिने गरेको र नेपालतर्फका जनप्रतिनिधिहरूले पनि छपकैया वडा नं १ का नागरिकलाई न्यायोचित व्यवहार नगरेको गुनासो गरे । जितेर गएका जनप्रतिनिधिहरूले पनि राजनीतिक पूर्वाग्रह राख्ने गरेकाले आफूहरूको आवाज कसैले नसुन्ने गरेको उनीहरूले आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here