• सञ्जय साह मित्र

अमूर्त रूपमा यदि युवा दक्षतालाई परिभाषित नगर्ने हो भने आफ्नो काममा सक्षम भई आफ्नो खुट्टामा उभिएको भनी अथ्र्याइनुपर्दछ । युवाहरूलाई दक्ष बनाउनु भनेको चानचुने कुरो होइन । युवाहरू कसरी दक्ष हुन सक्छन् भन्ने विषय आफैंमा विशाल आयाम बोकेको हो किनभने हरेक युवाको रुचि र क्षमता भिन्न हुन्छ ।

हेटौंडाको एउटा संस्थागत विद्यालयले अध्ययनरत बालबालिकाको रुचिलाई विचार गर्दै सत्रवटा क्लब गठन गरेको छ । सानैदेखि बालबालिकाको रुचिलाई विचार गर्दै खेलकूद, नृत्य, वाद्यवादन (सङ्गीत), चित्रकला, वक्तृत्व, हाजिरीजवाफजस्ता अनेक क्षेत्रमा रुचि हुनेको लागि छुट्टै क्लब बनाइएको र हरेक क्लबका सदस्यको लागि हप्ताको तीन वटा कक्षा अर्थात् हप्तामा एक दिनको आधा दिन त्यससम्बन्धी प्रशिक्षण र अवसर दिने गरिएको छ ।

अवसर भनेको अभ्यास गराउने र प्रतियोगिता गराउने हो । बीस वर्ष पहिले मैले नै गठन गरिदिएको साहित्यसम्बन्धी संस्था सुनौलो बिहानी समूह अहिले पनि क्रियाशील छ । विभिन्न क्लबमार्फत हुने प्रशिक्षणमा बालबालिकाले आफ्नो प्रतिभा प्रस्फुटन र परिष्कार गर्ने अवसर पाउँछन् । पढाइको काम त नियमित भएकै छ ।

यहाँ उदाहरणको रूपमा एउटा संस्थागत विद्यालयले गरिरहेको अभ्यास अगाडि ल्याइएको हो । वास्तवमा हरेक बालबालिकामा रहेको प्रतिभा चिनेर त्यसलाई प्रस्फुटनको अवसर प्रदान गरिनुपर्दछ । यो नहुँदा अधिकांश बालबालिका आफूलाई चिन्न सक्दैनन् र आप्mनो रुचि एकातिर तथा काम अर्कोतिर भएर जान्छ । यसले गर्दा उनीहरूले आप्mनो काममा कमै सफलता पाउने सम्भावना रहन्छ । प्रतिभा पहिचान तथा त्यसको व्यवस्थापन अहिलेको मुख्य समस्या रहेको छ ।

हुन त के भनिन्छ भने आवश्यकता नै आविष्कारको जननी हो । तर मलाई केको आवश्यकता छ र मलाई किन त्यसको आवश्यकता छ भन्ने कुरा पनि जान्न सक्नुपर्दछ । आपूmलाई केको आवश्यकता छ भन्ने प्रश्नको उत्तर थाहा पाउन नसक्नेले लहलहैमा लागेर केही प्राप्त गर्न सक्छ र यसरी लहलहैमा लाग्दा पनि कतिपयले आफ्नो रुचि र क्षमता अगाडि ल्याउन सकेको देखिन्छ। लहलहैको आफूलाई चिन्ने सम्भावना ज्यादै कम हुन्छ । यस्तो एक पात्रको मलाई सम्झना भइरहेको छ जसले अरूलाई घोडामा चढेको देखेर धुरी चढ्ने प्रयास गरेको थियो ।

गधापचीसे उमेरमा एकजना शिक्षकसित विवाद गरी अङ्ग्रेजीमा आपूmलाई जान्ने देखाउन उसले अङ्ग्रेजीमा स्नातक गर्न खोज्यो । वास्तवमा उसको रुचि नेपालीमा थियो तर बलजफ्ती अङ्ग्रेजीमा स्नातक गर्न खोज्दा उसले सकेन । घरबाट स्नातककै लागि सात आठ वर्ष बाहिर बस्यो र पास गर्न नसकेपछि घरमा थन्कियो ।

अभिभावकले पनि कहिलेसम्म पैसा दिने ? अन्तमा उसलाई दाजुभाइबाट छुट्याइयो र निजी स्रोतमा मास्टर बनेर दयाको भरमा जीवन कटाइरहेको छ अहिले पनि । हात्तीले पछुतो मान्नुपर्दा भुइँको धुलो उठाएर जीउमा छर्छ रे । अहिले पछुतो मानेर लहलहैमा आपूmलाई जान्ने देखाउन खोज्दा जीवनले दुःखको बाटो लिएको थाहा नै हुँदैन ।

युवालाई कसरी दक्ष बनाउने भन्ने प्रश्न गहन छैन । वातावरण कसरी बनाउने भन्ने प्रश्न गहन हो, हाम्रो परिवेशमा । अहिलेको समयलाई विचार गर्ने हो भने युवाहरूमा दुई किसिमको मनोवृत्ति देखिन्छ । एकथरी युवा निकै मिहिनेत गर्दछ । मिहिनेत गरेर आफूलाई जसरी पनि सफल देखाउन चाहन्छ । जसरी पनि सफल भएको देखाउन खोज्नेमध्ये अधिकांश त सफल नै हुन्छन् तर केही भने बिग्रेर जान्छन् । अर्कोथरी युवा भने कामचोर प्रवृत्तिको हुन्छ । सबै सुख र सुविधा खोज्दछ तर काममा भने अल्छी गर्दछ । अनेक बहाना बनाएर काम नै गर्न खोज्दैन ।

अलिकति समस्या अभिभावकमा नै रहेको छ । कतिपय अभिभावक आप्mनो चाहना बालबालिकामाथि बलजप्mती थोपर्छन् । म आफ्नो छोरोलाई यो बनाउँछु, त्यो बनाउँछु भनेर बलजफ्ती गर्न खोज्छन् । यस्तो हुँदा बालबालिकाले आफ्नो क्षमता वा प्रतिभा बुझ्नै पाउँदैनन् । आफूलाई त केवल बुवाको इच्छाको प्रतिरूप देख्न थाल्दछन् । यदि आफूलाई आफू नठानेर अभिभावकको इच्छाको प्रतिरूप हेर्ने वातावरण हुन्छ भने त्यहाँ प्रतिभाको पक्ष र प्रश्न नै रहँदैन । प्रतिभाको पक्ष जब गौण हुन्छ तब यस प्रकारका बालबालिका युवा भएर दक्ष हुन्छन् भन्ने छैन।

कतिपयले युवामा दक्षता अभाव हुनुलाई पैतृक कारण पनि मानेका छन् । भनिन्छ, अमेरिकामा युवकहरू स्वरोजगारी हुन लालायित हुन्छन् । युवा भएपछि म कुन क्षेत्रमा काम गर्न सक्छु र सम्भव भएसम्म आफूले कमाइ गर्दै कसरी आफ्नो अध्ययनलाई अगाडि बढाउन सक्छु भन्ने विचार गर्दछन् । तर हामीकहाँ बुवासित यति धेरै सम्पत्ति छ, त्यो सम्पत्तिको रक्षा मैले नै गर्ने हो भन्ने भावना हुन्छ ।

यस्तो अवस्थामा प्रतिभा र दक्षताको पक्ष फेरि पनि गौण हुन पुग्दछ । पिताले कुन योग्यता र दक्षताले सम्पत्ति आर्जन गरे, त्यस प्रकारको योग्यता र दक्षताको अभाव भए पनि पितापुर्खाको सम्पूर्ण आर्जनलाई केवल भौतिक सम्पत्ति देख्ने प्रचलन र पितापुर्खाको भौतिक सम्पत्तिमा छोरा स्वतः हकदार हुने यताको प्राकृतिक नियमले युवाले दक्षता आर्जन गर्ने बाटोमा धेरै हदसम्म तगारो तेस्र्याएको कुरालाई पूर्णतया अस्वीकार गर्न सकिन्न । पैतृक सम्पत्तिको रेखदेख वा सम्पूर्ण प्राप्त गर्नेभन्दा पहिले कुनै योग्यताको निर्धारण गरिएको भए युवाहरूमा दक्षता हासिल गर्ने चाहना बढी हुन्थ्यो कि ?

वर्तमान परिवेशमा युवामा दक्षता ल्याउनको लागि सबैभन्दा उपयुक्त माध्यम तालीम हो तर तालीम पनि तालीमजस्तो हुनुपर्छ । तालीम भनेको तोकिएको काममा दक्ष बनाउनु हो, तर तालीम केवल प्रमाणपत्र दिने वैधानिक आधार भइदिने हो भने त्यसले खासै असर पार्दैन । कुनै पनि बजारलाई यदि राम्ररी हेर्ने हो भने घडी बनाउने, मोबाइल मरम्मत गर्ने, साइकल तथा मोटरसाइकल मरम्मत गर्ने दक्ष युवा प्रायः हरेक बजारमा भेटिन्छ । तिनीहरूलाई सोध्ने हो भने तालीम लिएको कुनै मिस्त्रीसित सिकेको पनि बताउन सक्छन् ।

यदि तालीम लिएको प्रसङ्गमा कुराकानी गर्ने हो भने सँगै तालीम लिने अन्यले के गरिरहेका छन् वा तिनीहरू पनि पोख्त छन् ? भन्दा नकारात्मक उत्तर नै आउँछ । यसबाट यो पनि स्पष्ट हुन्छ कि तालीम वा प्रशिक्षणले युवालाई बाटो देखाउने हो । हिंड्ने काम त बाटोले गर्दैन । हिंड्नु त आफैंले पर्छ । आफैंले नहिंडे कसले पु¥याइदिन्छ ? जसले राम्ररी तालीम लिए र प्राप्त तालिमलाई अझ बढी मिहिनेत गरेर व्यवहारमा उतारे, तिनीहरू दक्ष भए ।

जहाँ पनि र जहिले पनि युवामा दक्षता ल्याउने काम उसको परिश्रम र लगनशीलताले नै गर्ने हो। उसको परिश्रम सार्थक हुनुपर्दछ र सार्थक परिश्रमले मात्र उसलाई दक्ष युवक बनाउन सहयोग गर्न सक्दछ । अल्छीहरू त कुनै पनि काममा कहिल्यै पनि दक्ष हुन सक्दैनन् भन्ने कुरो युवाले नै सबैभन्दा बढी बुझ्नुपरेको छ ।

विश्व युवा दक्षता दिवसले विश्वका युवामा कसरी दक्षता ल्याउन सकिन्छ भन्ने विषयमा चिन्तन गर्ने अवसर दिएको छ । हामीजस्तो विकासमा पछाडि परेका देशका युवाहरूले विकासको क्षेत्रमा अगाडि बढेका विश्वका कुनै पनि देशका युवाहरू कसरी दक्ष बनेका छन् र आप्mनो दक्षताको उपयोग कसरी गरिरहेका छन् भन्ने विषयमा प्रविधिको उपयोग गरेर आफैं पनि बुझ्न सक्छन् ।

अब कसैले भनेको कुरा विस्मित भएर सुन्नुपर्ने र आँखा चिम्लेर विश्वास गर्नुपर्ने आवश्यकता छैन । अहिले त अरूमा कुन प्रतिभा थियो र त्यसको पहिचान कसरी भयो भनेर विचार गर्ने र आप्mनो प्रतिभा पहिचान गरेर आफैं कुन क्षेत्रमा कति दक्ष बन्ने हो निर्धारण गर्ने हो । त्यसमा अभिभावकको सामान्य मात्र सहयोग लिने हो । युग अनुसार युवाले आफू अनुकूल दक्षता हासिल गर्नुपर्छ । अहिलेको विश्वले दिएको शिक्षा यही हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here