प्रस, वीरगंज, २९ असार/
नारायणी अस्पतालमा कार्यरत चिकित्सकहरूले बहिरङ्ग (ओपिडी) सेवामा निर्धारित २० जना बिरामी मात्र हेर्दै आएका छन् भने क्लिनिकमा सयौं बिरामी चेकजाँच गर्दैछन् ।
नारायणी अस्पतालमा कोभिड सङ्क्रमित भर्ना भएपछि बहिरङ्ग सेवा बन्द भएको थियो तर त्यहाँ कार्यरत चिकित्सकहरूले आफ्नो क्लिनिक भने निर्बाधरूपमा सञ्चालन गर्दै आएका थिए।
अहिले नारायणी अस्पतालमा बहिरङ्ग सेवा असार १८ गतेदेखि सञ्चालनमा छ । तर एउटा विभागमा २० जना मात्र बिरामीलाई हेरिन्छ । बहिरङ्ग सेवामा अस्पतालले मेडिकल, अर्थो, गाइनो, दन्तलगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।
अस्पतालमा यी सेवा प्रवाह गर्ने चिकित्सकहरूले भने बाहिर आफ्नो क्लिनिक र नर्सिङ होममा जतिसुकै सङ्ख्यामा बिरामीलाई सेवा दिंदै आएका छन् ।
वीरगंजमा सबैभन्दा बढी क्लिनिक चल्ने चिकित्सकहरूमा डा अरुणकुमार कर्ण, नीरजकुमार सिंह, डा अतुलेश चौरसिया, डा नीलम चौरसिया, डा जयप्रकाश जयसवाल, डा मोनिका सिंह, डा सरोज सिंह, डा रोशन अली, डा भोला बछार, डा विमला बछारलगायत छन् ।
यी चिकित्सकहरूले दैनिक ४० देखि ७० जना बिरामी हेर्दैआएका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले कोभिडको कारण बन्द भएका सेवा बिस्तारै सञ्चालनमा ल्याएको र सोही क्रममा सञ्चालित बहिरङ्ग सेवामा बिरामी चेकजाँच गर्ने सङ्ख्या बढाउने बताए । उनले साउन ३ गते आइतवारदेखि सबै विभागमा ४० जना बिरामी हेर्ने गरी व्यवस्था मिलाइने बताए ।