प्रस, परवानीपुर, २९ असार/

कोरोना महामारीको दोस्रो लहरको कारण वीरगंज महानगरको राजस्व सङ्कलन प्रभावित भएको थियो । तर असार मसान्तको मुखमैं लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न वीरगंज महानगर सफल भएको छ ।

करीब डेढ महीना जेठ मसान्तसम्म निषेधाज्ञाको कारण राजस्व सङ्कलनमा समस्या हँुदा चालू आवमा आन्तरिक स्रोतबाट सङ्कलन गर्नुपर्ने राजस्वको लक्ष्य पूरा नहुने अनुमान थियो । तर असारमा निषेधाज्ञा खुकुलो भएसँगै कर बुझाउनेहरूको भीडभाड बढेको थियो । वीरगंज महानगरले असारको २७ गतेसम्म मात्र करीब रु १७ करोड राजस्व सङ्कलन गरेर वार्षिक लक्ष्य भेटाएको छ भने चालू आवमा लक्ष्यभन्दा करीब रु १० करोड बढी राजस्व सङ्कलन हुन सक्ने बताइएको छ ।

चालू आवको गत साउनदेखि असार मसान्तसम्म रु ५० करोड ७५ लाख राजस्व आन्तरिक स्रोतबाट सङ्कलन गर्नुपर्ने लक्ष्य लिएकोमा चालू आवको असार २७ गतेसम्म रु ५८ करोड ९६ लाख ७ हजार राजस्व सङ्कलन भएको छ ।

जबकि चालू आवको गत जेठ मसान्तसम्म रु ४१ करोड ३८ लाख ९५ हजार मात्र राजस्व सङ्कलन भएको थियो । असारमा मात्रै करीब साढे ८ करोड रुपैयाँ राजस्व सङ्कलन हुन्छ कि हुँदैन भनी कर्मचारीहरू तनावमा थिए ।

तर असारमा राजस्व सङ्कलनमा वृद्धि हुनुले सकारात्मक सङ्केत दिएको राजस्व महाशाखा प्रमुख विकास मिश्र बताउँछन् । उनका अनुसार असार मसान्त समाप्त हुन तीन दिन बाँकी रहँदा लक्ष्यभन्दा रु ८ करोड बढी राजस्व सङ्कलन भएको र बाँकी तीन दिन गरी लक्ष्यभन्दा कम्तीमा १०–१२ करोड बढी राजस्व उठ्ने अनुमान छ।

चालू आवमा असार २७ गतेसम्म घरजग्गा रजिस्ट्रेशन दस्तुर २० करोड ९९ लाख २३ हजार, सम्पत्ति कर १४ करोड ३ लाख ७१ हजार, घरबहाल कर ६ करोड ११ लाख १६ हजार, पूर्वाधार सेवा उपभोगमा लाग्ने कर ३ करोड १३ लाख २४ हजार, व्यवसाय रजिस्ट्रेशन कर १ करोड ५७ लाख ४० हजार, अखेटोपहारमा लाग्ने कर १ करोड ४८ लाख ३ हजार, अन्य स्रोतबाट बाँडफाँड नहुने रोयल्टी १ करोड १ लाख ५० हजार, अन्य सेवा शुल्कतर्फ २ करोड ३४ लाख ४८ हजार, सिफारिश दस्तुरतर्फ १ करोड ७ लाख ९४ हजार, नक्शापास दस्तुरतर्फ ३ करोड ८० लाख १ हजार गरी कुल ५८ करोड ९६ लाख ७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए । महानगरले अन्य शीर्षक गरी करीब २५ प्रकारका कर असुलउपर गर्ने गरेको छ । अन्य शीर्षकमा रु १ करोडभन्दा कम राजस्व सङ्कलन भएको छ ।

महानगरले चालू आवको १२ महीनाको लागि सम्पत्ति करमा साढे ११ करोड, घरबहाल करमा ८ करोड, व्यवसाय रजिस्ट्रेशन दस्तुरमा ४ करोड, अखेटोपहारमा लाग्ने कर डेढ करोड, सरकारी सम्पत्ति बहालबाट १ करोड ८० लाख, अन्य स्रोतबाट बाँडफाँड नहुने रोयल्टीमा १ करोड, अन्य सेवा शुल्कमा ८ करोड, नक्शापास दस्तुरमा ५ करोड, सिफारिश दस्तुरमा डेढ करोड गरी कुल ५० करोड ७५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।

कोरोनाले प्रभावित भएको चालू आवको जेठ मसान्तसम्म सङ्कलन भएको रु ४१ करोड ३८ लाख ९५ हजार राजस्वमा घरजग्गा रजिस्ट्रेशन दस्तुर ६ करोड ३६ लाख ४३ हजार, सम्पत्ति करतर्फ १३ करोड २२ लाख ९० हजार, घरबहाल करतर्फ ५ करोड ५५ हजार, पूर्वाधार सेवा उपभोगमा लाग्ने करतर्फ ३ करोड १३ लाख २४ हजार, व्यवसाय रजिस्ट्रेशन दस्तुरतर्फ १ करोड ४२ लाख ३८ हजार, अखेटोपहारमा लाग्ने करतर्फ १ करोड ४८ लाख ३ हजार, सरकारी सम्पत्ति बहालबाट १ करोड ४५ लाख ९६ हजार, अन्य सेवा शुल्कबाट २ करोड १७ लाख ९३ हजार, नक्शापास दस्तुरबाट ३ करोड ५९ लाख २ हजार राजस्व सङ्कलन भएको तथ्याङ्क छ।

त्यसैगरी, गत आव २०७६/७७ को जेठ मसान्तसम्म वीरगंज महानगरले २४ करोड ७९ लाख ६० हजार रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here