दक्षिण अफ्रिका, २९ असार/एएफपी

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जेकोब जुमा जेल परेपछि करीब एक सातादेखि भइरहेका हिंसात्मक प्रदर्शनहरूलाई रोक्न सरकारले सेना परिचालन गरेको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले आम नागरिकलाई ‘हिंसाविरुद्ध उभिन’ आह्वान गरेका छन् । उनले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढरूपमा उभिन सर्वसाधारणहरूलाई आग्रह गरेका छन् ।

जुमाले प्रहरीसमक्ष गत हप्ता आत्मसमर्पण गरे पनि उनको समर्थनमा भएका प्रदर्शनहरूमा कम्तीमा छजनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी मानिस पक्राउ परेका छन् ।

जुमालाई जून २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेश गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महीना लामो जेलसजाय सुनाइएको हो । भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमाबाहेक दक्षिण अफ्रिकी कुनै पनि पूर्वराष्ट्रपतिलाई सजाय सुनाइएको थिएन ।

प्रहरीका अनुसार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपका घटनाहरू भइरहँदा शहरका केही भवनमा आगजनी भएका छन् भने पसलहरू लुटिएका छन् ।

सरकारले खावटेयाङ राज्य र जुमाको गृह राज्य क्वाजुलु नटालमा सुरक्षा फौज परिचालन गरेको छ ।

संवैधानिक अदालतले आफ्नो सजाय फिर्ता लिने वा कम गरिदिने अपेक्षा जुमाले गरेका उनका निकटस्थ स्रोतहरूले बताएका छन् । कानूनविद्हरूले जेलसजाय माफी वा कम गर्ने सम्भावना भने नरहेको बताइरहेका छन् ।

जुमाको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साँठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ ।

सन् २०१८ मा सेनाको सहयोगमा उनको दलसहित त्यहाँका राजनीतिक दलहरूले उनलाई पदच्युत गर्न सफल भएपनि उनको पक्षमा अहिले पनि ठूलो समूह रहेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here