बगदाद, २९ असार/सिन्ह्वा

इराकको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ। इराकको दक्षिण प्रान्त धिक्वारमा सो दुर्घटना भएको हो । उक्त अस्पतालमा कोभिड–१९ का बिरामीहरूको उपचार जारी रहेको थियो ।

अस्पतालमा सोमवार राति अकस्मात् आगो लागेको थियो । सो अस्पताल इराकको राजधानी बगदादबाट करीब ३७५ किलोमिटर टाढा रहेको छ ।

विशेषगरी कोभिडका बिरामीहरूको उपचार जारी रहेको सो अस्पतालमा आगो लागेको यहाँका सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् । नासियारा शहरको सो अस्पतालमा आगलागी भएको बताइएको छ ।

उक्त अस्पतालमा निर्माण गरिएको कोभिड–१९ का सङ्क्रमितहरूलाई राखेर उपचार गर्ने क्वारेन्टाइनमा सो आगलागी भएको थियो । त्यसमा परेर ४१ जनाको ज्यान नै गएको बताइएको छ भने अरू केही बिरामी घाइते भएका छन् ।

अस्पतालमा आगो लागेपछि ठूलो सङ्ख्याका अग्निनियन्त्रकहरू आगो निभाउनका लागि खटाइएका थिए । तर उनीहरूले पनि लामो समयसम्म आगो नियन्त्रणमा लिन नसकेपछि ठूलो क्षति हुन पुगेको बताइएको छ ।

इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले सो आगलागीको कारण र यसले उत्पन्न गर्न सक्ने अवस्थाका बारेमा छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक नै बोलाएका थिए ।

त्यस्तै, इराकी संसद्का सभामुखले सोमवार राति ट्वीट गर्दै मङ्गलवार इराकी संसद्को बैठकमा सो आगलागीका बारेमा छलफल गरिने कार्यक्रम बनाइएको जानकारी दिएका थिए ।

यहाँको प्रहरीले उक्त अस्पताल भवनमा के कति कारणले आगलागी भएको हो भन्नेबारेमा अनुसन्धान थालेको बताएको छ । त्यस आगलागीमा परेर ज्यान जानेमा प्रायः बिरामीहरू नै परेका अनुमान गरिएको छ ।

यस विषयमा अस्पतालले केही बताएको छैन । अस्पतालले सो भवनमा कोभिड–१९ का सङ्क्रमितहरूको उपचार केन्द्र राखेको र त्यहाँ कोभिडका मात्र बिरामीको उपचार गर्ने गरिएको जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here