प्रस, परवानीपुर, २९ असार/
वीरगंजमा एक सातादेखि नयाँ किसिमको फ्लूका बिरामी भेटिन थालेका छन् । पर्सा/बाराका विभिन्न क्षेत्रबाट आउने बिरामीहरूमा कोभिड जस्तै लक्षण देखिएको चिकित्सकहरूले बताएका छन् ।
एकजना फिजिसियनको क्लिनिकमा दैनिक १० जनाभन्दा बढी कोभिड जस्तै लक्षण भएका बिरामी आइरहेका नेपाल चिकित्सक सङ्घ नारायणी वीरगंजका अध्यक्ष डा अरुणकुमार सिंहले जानकारी गराए । उनका अनुसार नारायणी अस्पतालको ओपिडीमा पनि रुघाखोकी, उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने जस्ता लक्षणका बिरामी बढेका छन् । उनले कोभिड जस्तै मिल्दाजुल्दा लक्षण देखिएकाले सर्वसाधारणले सतर्कता अपनाउनुपर्ने बताए ।
नारायणी अस्पतालका फेमिली फिजिशियन डा उदयनारायण सिंहका अनुसार कोभिडको डेल्टा भेरियन्ट जस्तै देखिए तापनि अध्ययन र परीक्षणपछि यकीनका साथ भन्न सकिन्छ । “शुरूमा नाकबाट पानी खस्ने, १०४ डिग्री फरेनहाइटसम्म उच्च ज्वरो, टाउको र जीउ दुख्ने जस्ता प्रारम्भिक लक्षणपछि खोकी पनि लागिरहेको छ,” उनले भने, “मकहाँ मात्रै अस्पतालको ओपिडी र क्लिनिकमा गरी करीब २० जनाभन्दा बढी बिरामी आइरहेका छन्, यसबारे सचेत बन्नुपर्ने अवस्था छ ।” उनले यस्ता बिरामीहरूको रगत परीक्षणबाट लिम्फोपेनिया घटेको र सि रियाक्ट प्रोटिन (सिआरपी) पनि औसतभन्दा बढेको पाइएको छ । यस्तो हुनु भनेको मानव शरीरमा कुनै प्रकारको सङ्क्रमण पुष्टि हुनु हो, उनले भने ।
वीरगंजका अन्य अस्पतालका चिकित्सकहरूका अनुसार पनि वीरगंजमा नयाँ भाइरल फ्लूका बिरामीहरू बढिरहेका छन् ।
अहिले पर्साको वीरगंज र ग्रामीण क्षेत्र तथा बारामा पनि बुझ्दा रुघाखोकी, उच्च ज्वरो, जीउ दुख्ने जस्ता रोगका बिरामीहरू घरघरमा बढिरहेका बताइएको छ ।