प्रस, निजगढ, २८ असार/
पूर्व–पश्चिम राजमार्ग सडकखण्डको बाराको पथलैयादेखि धनुषाको ढल्केबरसम्मका अधिकांश पुल जीर्ण छन् । सडक विभागले बर्सेनि बकैया र पसाहा पुलका खाल्डाखुल्डी टालटुल गरे पनि केही महीना नबित्दै पुनः भत्किने उप्किने गरेको छ । वर्षात्को समयमा सडक र पुलहरूमा खाल्डाखुल्डी हुँदा दुर्घटना हुने गरेको छ ।
पुल भन्ने बित्तिकै नदी खोलामा सहजरूपमा सवारीसाधन आवतजावत गर्न सकिने गरी बनाइएका पक्की संरचना हो । तर त्यही पुलहरू झोलुड्डे पुलझैं हल्लिने गरेका छन् । पहिले अगाडि–पछाडि हल्लिने पुलहरू केही वर्षयतादेखि तल–माथि हल्लिंदै आएका छन् । जुन राम्रो सङ्केत होइन, यसले पुलको अवस्था जीर्ण भएको बताउँछ ।
तत्कालीन सोभियत सङ्घको सहयोगमा राजमार्गसँगै बनाइएका बकैया पुल र पसाहा पुल निर्माण भएको ४२ वर्षभन्दा बढी भयो । बेलाबेलामा उचित मर्मतसम्भार नहुँदा पुलहरू जीर्ण बन्दै गएका हुन् ।
आइतवार विराटनगरबाट पथलैयातर्फ आएको सानो सवारीसाधनका चालक दिनेशकुमार राजवंशीले पुल र सडकमा परेका खाल्डाखुल्डीका कारण सवारीसाधन चलाउन गा¥हो भएको बताए । उनले लामो दूरीमा यात्रा गर्दा त झनै अप्ठ्यारो हुने बताए । राजमार्गमा रहेका अधिकांश पुराना पुल झोलुड्डे पुलझैं हल्लिने गरेको उनले बताए ।
पहिले ६ चक्के सवारीसाधन हुन्थ्यो भने अहिले १० देखि २४ चक्का भएका मालवाहक सवारीसाधन बनेका छन् । अत्यधिक भारवहनले गर्दा सडक र पुलको अवस्था जीर्ण भएकाले दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका ट्राफिक प्रहरी निरीक्ष्क विपिन ओझाले बताए ।
लकडाउन खुकुलो भएपछि सवारीसाधनको चाप बढ्न थालेको र धन्सारदेखि अमलेखगंजस्थित चुरियामाईसम्मको ४५ किलोमिटर दूरीमा वैशाखमा ७७, जेठमा ५३ र असारमा ५६ गरी तीन महीनाको अवधिमा १८६ वटा दुर्घटना भएको उनले बताए । यस दुर्घटनामा २२ जनाले ज्यान गुमाएको, ३६ जना गम्भीर र १६४ जना सामान्य घाइते भएका ट्राफिक प्रहरी कार्यालय बाराको तथ्याङ्कमा उल्लेख छ ।
ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढ्नुका साथै यान्त्रिक गडबढी, राष्ट्रिय निकुञ्ज र वन्यजन्तुले सडक काट्दा दुर्घटना हुने गरेको छ । ट्राफिक नियम पालना नगर्ने सवारी चालकलाई तीन महीनाको अवधिमा रु १ करोड ५ लाख ९९ हजार जरिवाना गराइएको ट्राफिक प्रहरी कार्यालय निजगढले जनाएको छ ।