प्रस, वीरगंज, २८ असार/
सर्वोच्च अदालतले संसद् पुनस्र्थापनासँगै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्ने आदेश दिएपछि प्रधानमन्त्री केपीशर्मा ओली समर्थकले विरोध प्रदर्शन गरेका छन् ।
युवा सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा वीरगंज र कलैयामा विरोध प्रदर्शन गरिएको छ । वीरगंजमा जिल्ला प्रहरी कार्यालयअगाडिबाट निकालिएको विरोध -यालीले घण्टाघरमा टायर बालेर प्रदर्शन गरेको थियो । सो क्रममा प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो ।
प्रदर्शनपछि यातायात संस्थानको रातो बड्डलामा कोणसभा गर्दै ओलीनिकट नेताहरूले प्रधानमन्त्री ओलीको पक्षमा वकालत गरे । उनीहरूले अदालतको आदेश विरोधाभासपूर्ण रहेको बताए । अदालतलाई प्रधानमन्त्री नियुक्त गर्ने अधिकार नभएको भन्दै उनीहरूले विरोध गरे ।
सभामा प्रम ओलीलाई अझै १० वर्ष शासन सत्तामा टिकाउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए। ‘आजलाई होइन भोलिलाई, १० वर्ष राजनेता ओलीलाई’ नारा लगाइएको थियो । प्रदर्शनमा युवा नेताहरू रवि गुप्ता, शिवजी गुप्ता, अखलेश साह, महम्मद निजामलगायतको सहभागिता थियो ।
यसैगरी, बाराको कलैयामा प्रम ओली समर्थकहरूले विरोध प्रदर्शन गरेका थिए ।
सर्वोच्चको फैसला आएपछि युवा सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा भरतचोकमा विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनको क्रममा सर्वोच्चको फैसलाको विरोध गरिएको युवा सङ्घका सचिव मोबिन आलमले बताए ।
फैसलाको स्वागत
प्रस, वीरगंज/पोखरिया
सर्वोच्च अदालतले गरेको फैसलाको समर्थनमा सोमवार वीरगंज र पोखरियामा दीपोत्सव गरी खुशियाली मनाइएको छ । वीरगंजको घण्टाघरमा नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले मैनबत्ती बालेर सर्वोच्चको फैसलामा खुशियाली मनाएका थिए ।
त्यस्तै, नेपाल विद्यार्थी सङ्घ पोखरियाका अध्यक्ष सन्तोष महतोको नेतृत्वमा पोखरियामा सोमवार साँझ मैनबत्ती बालेर खुशियाली मनाइएको थियो ।
कार्यक्रममा संविधानसभा सदस्य रामेश्वर रौनियार, महाधिवेशन प्रतिनिधि असर्फी साह, माओवादी पोखरिया नगरअध्यक्ष पन्नालाल पटेल, राज गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।