- सम्पादकीय
वीरगंज महानगरपालिकाको स्वामित्वमा रहेको वीरगंजको घण्टाघरस्थित दश बिघा जग्गा (विपी उद्यान)मा पर्खाल र ढलान निर्माण कार्य भइरहेको छ । तत्कालीन नेपाल यातायात संस्थानको स्वामित्वबाट महानगरपालिकाको स्वामित्व कायम भएको अढाई दशक बितिसकेको छ । तर विपी उद्यान नामकरण गरिएको सो स्थान लामो समयसम्म खाली रह्योे र अहिले पनि उद्देश्यपरक निर्माणको थालनी भने हुन सकेको छैन । संस्थानबाट महानगरको स्वामित्वमा आएपछि उद्देश्यअनुरूप विपी उद्यानको काम अगाडि बढेन ।
नबढ्नुका कारण अनेक होलान् । खाली जग्गामा एक समय वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको पहलमा अन्तर्राष्ट्रिय मापदण्डको १५ सय सिट क्षमताको सभाहल निर्माणको पहल भएको थियो । तर समय परिवेशले सो पहल गुरुयोजनामैं सीमित बन्यो । मधेस आन्दोलनपछि विकसित राजनीति घटनाक्रमले मधेसी पार्क नामकरण गरी उचालियो र नामकरणको विवादसंगै अन्तर्राष्ट्रिय सभाहल निर्माणको पहल स्थगित भयो । यसो त सो जग्गा महानगरपालिकाको स्वामित्वमा आएपछि विभिन्न निर्माणका योजनाहरू मौखिकरूपमा महानगर नेतृत्व पक्षबाट सार्वजनिक गरिएकै हो ।
विपी उद्यानमा प्रदेश सरकारका मुख्यमन्त्रीले मधेसी पार्क निर्माणको लागि शिलान्यास पनि गरिसके । विपी उद्यानको उद्देश्यविपरीत मुख्यमन्त्रीबाट मधेसी पार्कको शिलान्यास भएपछि महानगरपालिका र नेपाली काङ्ग्रेसले विरोध गरेका थिए । विरोधका कारण मधेसी शहीदहरूको सालिकलाई उद्यानको दक्षिणतर्फ एक कुनामा स्थापना गरिएको छ ।
करीब २५ वर्षको अवधिमा सङ्घ सरकारको पहलमा विपी उद्यानको जग्गालाई पर्खालले घेर्ने र सँगै हलुका सवारीसाधन पार्किड्ढो लागि निर्माण कार्य शुरू गरिएको छ । एक वर्ष अगाडि भएको यो ठेक्का गत वैशाखदेखि शुरू भएको र पर्खाल निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएर ढलान गरिंदा अहिले उद्यानको उद्देश्यविपरीत कार्य भएको भनेर विवाद शुरू गरिएको छ । विपी उद्यानको जग्गा खाली रहँदा विभिन्न खुद्रा पसल, हाटबजार अनि गरीब, दलित, विपन्न मुसहर, डोम जातिले अस्थायी घर बनाएर अतिक्रमण गरेका थिए ।
सवारीसाधनहरूको अघोषित पार्किङस्थल पनि त्यहीं थियो । विपी उद्यान अहिलेसम्म किन बनेन, नबन्नुका कारण के हो भन्ने विषयमा कसैले कहिले चासो देखाएन । नेपाली काङ्ग्रेसको नेतृत्वमा धेरैपटक सरकार बन्यो । आफ्नो सरकारको पालामा बनाउन नसकेको उद्यान अहिले नेपाली काङ्ग्रेसले बनाउँला भन्ने विश्वास महानगरवासीमा छैन ।
अन्य पार्टीले पनि विपी उद्यानको उद्देश्यअनुरूप निर्माण गर्ला भनी सोच्नु मूर्खता होला । विपी उद्यान बन्न नसकेको अवस्थामा जग्गा खाली नै राख्ने कि यसमा अन्य काम गरेर गति दिने भन्ने विषयमा पनि पर्सा काङ्ग्रेसले कहिले पनि छलफल, राय, परार्मश गरेको छैन । आफूले काम नगर्ने, अरूबाट गराउनका लागि पहल पनि नगर्ने कार्यले अहिलेसम्म उद्यान लावारिस भएको हो । अबका दिनमा पनि उद्यानको उद्देश्यअनुरूपको निर्माण कार्य गराउने हो भने पर्सा काङ्ग्रेसले पहल गर्नै पर्छ ।