अल्जेर्स/सिन्ह्वा
अल्जेरियाका प्रधानमन्त्री अयमान बेनाब्डेराहमन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । स्वाब परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले शनिवार जानकारी दिएका हुन् ।
सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री बेनाब्डेराहमन अहिले छुट्टै बस्न थालेका छन् । उनले कोरोना भाइरससम्बन्धी मापदण्डहरूको पालना पनि गरेको उनको सचिवालयले जानकारी दिएको छ । घरभित्र छुट्टै बसे पनि उनले कतिपय काम भने गरेका सचिवालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
उनलाई सङ्क्रमण पुष्टि भएपनि अवस्था भने सामान्य नै रहेको जनाइएको छ । उनलाई देशका वरिष्ठ चिकित्सकहरूको निगरानी पनि रहेको छ । बेनाब्डेराहमन यही जून ३० तारिखमा अल्जेरियाको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अल्जेरियामा पछिल्ला केही दिनदेखि कोरोना भाइरसको सङ्क्रमण अत्यधिक वृद्धि भएको छ ।
अहिले दैनिक झन्डै दुर्ई सयजनाको दरले सङ्क्रमितहरूको सङ्ख्या वृद्धि भएको अधिकारीहरूले जानकारी दिएका छन् । रासस