साओ पाओलो/सिन्ह्वा
ब्रजीलमा कोभिड–१९ को सङ्क्रमणबाट एकै दिनमा एक हजार २०० भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ । आइतवार यहाँका स्वास्थ्य अधिकारीहरूले सो जानकारी दिएका हुन् ।
उनीहरूका अनुसार यहाँ एकै दिनमा १ हजार २०५ जनाको यस सङ्क्रमणबाट निधन भएको हो । योसँगै ब्रजीलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको सङ्ख्या ५ लाख ३२ हजारभन्दा बढी पुगेको बताइएको छ । ब्रजीलका स्वास्थ्य अधिकारीहरूले आइतवार सो कुरा बताएका हुन् ।
यसैगरी, यहाँ गएको २४ घण्टामा ४८ हजारजनाभन्दा बढी व्यक्ति यहाँ सङ्क्रमित भेटिएका छन् । आइतवारसम्ममा यहाँका १ करोड ९० लाख ९८ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित हुन पुगेको पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् ।
ब्रजीलको स्वास्थ्य मन्त्रालयले आइतवार दिएको जानकारीमा पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ । कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन् ।
ब्रजीलका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार यहाँका प्रति एक लाखजनामा २५३ जनाको मृत्यु भएको बताइएको छ । यो मृत्युको प्रतिशत गएका केही महीनाअघि मात्र हेर्दा प्रति एक लाख जनसङ्ख्या सङ्क्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको थियो ।
ब्रजीलको साओ पाओलो शहर शुरूदेखि नै यो सङ्क्रमणको एक किसिमले केन्द्रबिन्दुको रूपमा रहेको पनि पाइएको छ । यस शहरका स्वास्थ्य संस्थाहरू भरिएका छन् भने ती संस्थाका करीब ९१ प्रतिशत जति आकस्मिक कक्षहरू पनि भरिएका पाइएको छ ।
यहाँको सरकारले कोभिड–१९ विरुद्धको खोप लगाउने कामलाई प्राथमिकता दिएको छ । खोप लगाउने कामलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गरिएको बताइएको छ ।