- अनन्तकुमार लाल दास
कुनै पनि मानिस जन्मँदै सर्वसामथ्र्य वा पूर्ण हुँदैन । कुनै पनि महापण्डितको सन्तान जन्मँदै ज्ञानी हुँदैन । पालनपोषण र शिक्षाको अभावमा मानिस वयस्क भए पनि केटाकेटीजस्तै कमजोर र अज्ञानी हुन्छ । अभ्यास बेगर मानिस लेख्न–पढ्न त पर जाओस्, बोल्न पनि सक्दैन । एकजना प्रसिद्ध दार्शनिकका अनुसार मानिस भएर जन्मे पनि कोही समस्त मानवीय गुणबाट सम्पन्न हुन सक्दैन । यसबाट के प्रस्ट हुन्छ भने जन्मँदा मानिस असमर्थ, अयोग्य र असभ्य नै हुन्छ ।
जुन विशेषताको कारण मानिस शक्तिशाली, सुयोग्य र विद्वान् बन्दछ, त्यसका लागि उसलाई पटक–पटक अभ्यास गर्नैपर्छ । अभ्यासबाट मानिसमा भएको कुनै पनि शक्ति कमजोर नभई वृद्धि हुन्छ । ज्ञान दिनाले ज्ञान बढ्छ । आफ्नो काममा असफल मानिस पनि अभ्यासद्वारा सफल हुने गरेको छ ।
अङ्ग्रेजीमा एउटा उखान छ–“Slow and steady wins the race,” केटाकेटीहरू पनि अभ्यासद्वारा नै शब्दको सही उच्चारण गर्न सिक्छन् । साइकल, मोटरसाइकल, गाडी आदि चलाउनु पनि अभ्यासबाट नै सम्भव हुन्छ । अभ्यास आत्म विकासको सर्वोत्तम साधन हो । कष्ट नभोगेर कोही पनि कर्मशील बन्न सक्दैन । निरन्तर अभ्यासले मानिसमा अनुभवको वृद्धि हुन्छ । ठूला–ठूला वैज्ञानिक आविष्कार पनि अभ्यासले नै सम्भव भएको छ ।
कुनै पनि कामलाई पटक–पटक गर्नु नै अभ्यास हो । कवि वृन्दको दोहा ‘करत–करत अभ्यास ते जडमति होत सुजान‘ ले निरन्तर परिश्रमको महत्वलाई बयान गरेको छ । ‘परिश्रम’ सफलताको अनिवार्य तत्व हो । यसको अर्थ के पनि हो भने लगातारको परिश्रमले नहुने कार्य पनि सजिलै र छिटै हुन्छ । असफलताको टाउको टेकेर सफलता हासिल गर्न सकिन्छ । पटक–पटकको परिश्रम र प्रयासले एउटा मूर्ख पनि केही गर्ने लायक बन्न सक्छ र सफलतालाई स्पर्श गर्न सक्छ ।
उदाहरणका लागि कालिदास विद्वता प्राप्त गर्नुपूर्व महामूर्ख थिए, किनभने उनी जुन हाँगामा बसेका थिए त्यसलाई नै काटिरहेका थिए । उनलाई त्यस हाँगा सहित तल खस्ने, चोट लाग्ने वा मर्न पनि सक्ने चिन्ता थिएन । विद्योत्तमा नामकी राजकन्याको मानभङ्ग गर्न तथाकथित विद्वान्वर्गले कालिदासलाई लोभ देखाएर र केही उटपटाङ्ग सिकाएर पण्डितको भेषमा विदूषी राजकन्यासँग शास्त्रार्थ गर्न लगाए ।
कालिदासको मौन सङ्केतलाई मनोपरि व्याख्या गरी राजकुमारीसँग कालिदासको बिहे गराइयो । तर पहिलो राति नै वास्तविकता थाहा भएपछि स्वास्नीको कुराले पीडित कालिदासले कठिन परिश्रम र निरन्तर साधना गरेर देवी कालीको कृपाले प्रकाण्ड विद्वान् बन्न सफल भए ।
विश्व इतिहासमा मात्र होइन, हाम्रै वरिपरि पनि यस्ता थुप्रै मानिस भेटिन्छन् जो पहिले मूर्ख थिए, तर असफलताबाट कहिल्यै निराश नभई सुनियोजित तरीकाले लगातार काम गर्दै जाँदा एकदिन यस्तो पनि भयो जब उसलाई हेरेर सबै छक्क परे । यसबाट के प्रस्ट हुन्छ भने विश्वमा अघि बढेर, कुनै क्षेत्रमा प्रगति गरेर वा सफल हुने मानिस कुनै अन्य लोकका प्राणी नभई हाम्रै धर्ती र हाम्रै वरिपरि बस्ने मानिस हुन् । अन्तर मात्र के हो भने उनीहरू एक–दुई पटकको हार वा असफलताबाट निराश नभई त्यसबाट सबक हासिल गरी असफलतासँग जुधेर विजय हासिल गरे र सबैलाई आश्चर्यमा पारे । प्रतिबद्ध मानिसको शब्दकोषमा ‘असम्भव’ नामको शब्द हुँदैन ।
अर्थात् निरन्तर अभ्यास र परिश्रम गर्ने मानिस मूर्ख र असमर्थ भए पनि एक दिन सफलता अवश्य हासिल गर्दछ । यदि कुनै पनि मानिस आफ्नो चाहना अनुसार लगातार हिंड्छ भने एक दिन लक्ष्यसम्म अवश्य पुग्छ । ध्यान दिनुपर्ने कुरो के हो भने केही हासिल गर्नको लागि चाहना मात्र सबै थोक होइन । यसको लागि निरन्तर परिश्रम र अभ्यास आवश्यक हुन्छ । भनिन्छ तिर्खाएको मानिस नजीक जाँदैन, तिर्खा लागेको मानिस नै हिंडेर इनारसम्म पुग्नुपर्छ । यस कारण अभ्यास पथमा निरन्तर हिंडिरहनुपर्दछ । यो नै सफलताको सूत्र पनि हो ।
यस कारण परिस्थितिसँग कहिल्यै पनि निराश हुनुहुन्न । कोरानाकालको यस विषम परिस्थितिसँग जसले सम्झौता गरेन, अर्थात् जसले यसलाई चुनौती र अवसरको रूपमा स्वीकार ग-यो ऊ सफल भयो, जसले हार मान्यो आज निराश र असफल छ । विघ्नबाधारूपी ढुङ्गालाई निरन्तर अभ्यासले घसेर, बर्पmको कैयन पर्खाल नाघेर आज हामी जहाँ पुगेका छौं त्यस प्रगतिको साक्षी मानिस इतिहास रहेको छ ।
यदि मानिस थाकेर वा एक–दुईपटकको असफलताबाट हरेश खाएर बसिरहन्थ्यो भने अहिलेसम्म हामी प्राचीनकालको अँध्यारो गुफामा वा घना जङ्गलमा नै भौंतारिइरहेका हुन्थ्यौं । तर त्यो न त्यस बेला सम्भव थियो, न आजको परिस्थितिबाट सन्तुष्ट भएर बस्नु नै मानिसका लागि उचित छ ।
अनुभवले के देखाएको छ भने घर्षणले ढुङ्गबाट आगो र तिलबाट तेल निस्कन्छ । कुनै पनि सामान्य बुद्धि, शक्ति र कम साधन भएको मानिस जब केही गर्न प्रतिबद्ध भएर तदनुरूप काम गर्छ भने प्रायः चमत्कारी परिणाम प्राप्त हुन्छ । छिटो हिंड्ने खरायोले मात्र लक्ष्य प्राप्त गर्दैन किनभने त्यो प्रायः घमण्डले भट्किने सम्भावना हुन्छ । बिस्तारै हिंड्ने कछुवा लगातार हिंडेर लक्ष्यलाई सजिलै हासिल गरी सफलताको उपहार हासिल गर्न सक्छ ।
खरायो र कछुवाको यस नीतिकथाले पनि धैर्यबाट नै गुलियो फल प्राप्त हुन्छ, हतार गरेर केही हासिल हुँदैन, अर्थात् “करत–करत अभ्यास ते जडमति होत सुजान’ सही साबित गरेको छ । तसर्थ आजैदेखि सबै खाले अल्छीपना छोडेर बिस्तारै हिंड्नु आजको खाँचो हो । लक्ष्य र सफलता तपाईंको अधीर भई प्रतीक्षा गरिरहेको छ ।
अभ्यास र परिश्रमको महत्व मानिसलाई मात्र होइन पशुपक्षीलाई पनि थाहा छ । स्यानो कमिला पनि खानाको लागि अथक परिश्रम गर्छ । कैयनपटक खाना मुखबाट झर्छ तर त्यसलाई पुनः टिपेर अघि बढ्छ । कमिला कहिल्यै हार मान्दैन, निराश हुँदैन, अन्त्यमा आफ्नो गुँड (घर) सम्म पुग्छ । यसैगरी आफ्नो गुँड बनाउनका लागि चराहरू पनि एक–एक छेस्का जम्मा गर्छन् जसको लागि कैयनपटक प्रयास गर्नुपर्छ ।
जब यी प्राणी आफ्नो इच्छापूर्ति गर्न समर्थ छन् भने मानिस त बुद्धि भएको, चेतना सम्पन्न र क्रियाशील प्राणी हो । उसको लागि कुनै पनि कार्य कसरी असम्भव हुन सक्छ ? इतिहासमा यस्ता थुप्रै उदाहरण भेटिन्छन् । लर्ड डिजराइलीबारे के प्रसिद्ध छ भने पहिलोपटक जब उनी संसद्मा बोल्नका लागि उभिए, सम्बोधनबाहेक केही बोल्न सकेनन् । त्यति नै बेला उनले राम्रो वक्ता बन्ने सङ्कल्प गरे र जङ्गलमा गएर रूखबिरुवाको सामु बोल्ने अभ्यास गर्न थाले । दोस्रोपटक बोल्नको लागि संसद्मा उभिंदा उनको भाषण सुनेर सबै छक्क परे ।
मानिस सधैं कर्म गरिरहन्छ । यसको सबैभन्दा सशक्त उदाहरण स्वयं मानिसको इतिहास छ । प्राचीनकालमा न मानिसले यति उन्नति गरेको थियो, न पृथ्वी आज जस्तो थियो । बिस्तारै मानिसले आफ्नो प्रयासले यसलाई सुन्दर बनायो । बस्ने योग्य भवन निर्माण ग-यो र आफ्ना लागि सबै प्रकारको भौतिक सुविधा जुटायो । कर्मले गर्दा नै आज विश्व प्रगति पथमा अग्रसर भइरहेको छ ।
तुलसीदासले भनेका छन्, मानिसले जस्तो कर्म गर्छ, त्यस्तै फल पनि पाउँछ । जो सधैं एकअर्काको कुभलो चाहन्छ, उसले पनि आफ्नो कर्मको फल भोग्नुपर्छ । कर्म मात्र शारीरिक जा सांसारिक सुखको लागि आवश्यक नभई मानसिक, बौद्धिक र अध्यात्मिक विकासको लागि पनि त्यत्तिकै आवश्यक छ ।
महाभारतमा दुर्योधनले निरन्तर अभ्यास गरेर कैंयन दिनसम्म पानीभित्रै बस्ने शक्ति हासिल गरेका थिए । यसैगरी भूतपूर्व अमेरिकी राष्ट्रपति ट्रयुमैनले अभ्यासद्वारा एकै रात कैयौं किताब पढ्ने दक्षता हासिल गरेका थिए । नेपोलियनबारे के प्रसिद्ध छ भने उनी एकैपटक कैयन सेनापतिहरूको कुरा सुनेर निर्देश दिन सक्थे । कान, आँखा, बोली र मस्तिष्क सँगसँगै प्रयोग गर्ने सिद्धि मात्र अभ्यासबाट सम्भव छ । अभ्यास मस्तिष्कलाई सुनियोजित प्रशिक्षण दिन्छ र मानिस हरेक स्थितिमा तदनुसार आचरण गरेर सफलता हासिल गर्दछ ।
कुनै पनि कार्य चाहेर मात्र पूरा हुँदैन, त्यसको लागि काम गर्नुपर्छ । सुतेको सिंहको मुखमा हरिण आपैंm प्रवेश गर्दैन । यसको लागि सिंहले पनि शिकार गर्नुपर्छ । त्यसैगरी खाना खानको लागि पनि हात चलाउनुपर्छ । निरन्तरको प्रयास र दृढ सङ्कल्पले हामीभित्र रहेको कमी कमजोरी हटाउन सघाउ पु-याउँछ । पटक–पटक गरेको गल्तीबाट केही यस्तो पनि शक्ति प्राप्त हुन्छ, जसबाट सजिलै रुचाएको काम गर्न असुविधा हुँदैन ।
अभ्यास, व्यक्तिको प्रगतिको लागि मात्र नभई देशको प्रगति तथा समाज सुधारको लागि पनि एउटा मूलमन्त्र हो । देशलाई बलियो र आर्थिक दृष्टिले समृद्ध बनाउनको लागि एकजना व्यक्तिको होइन, हरेक व्यक्तिको अभ्यास र साधना आवश्यक हुन्छ । यसै हुनाले पृथ्वीलाई कर्मभूमि भनिएको हो । किनभने कर्म नै सृष्टिको आधार हो र प्राणीमात्रको जिवन्तताको साक्षी ।