राधेश्याम पटेल, परवानीपुर, २६ असार/

२३ किलो सुन प्रकरणमा साढे १८ करोड रुपैयाँ राजस्व चुहावटको मुद्दा खेपिरहेका रक्सौलका व्यवसायी अशोक सिन्हाको संलग्नता बहुराष्ट्रिय कम्पनी डाबर नेपालसँग रहेको पाइएको छ ।

बिहार, पूर्वी चम्पारण रक्सौल विधानसभा क्षेत्रबाट भारतीय जनता पार्टीबाट निर्वाचित विधायक प्रमोदकुमार सिन्हाका भाइ अशोक सिन्हा भन्सार क्लियरिङ एजेन्टको काम गर्छन् । उनी बहुराष्ट्रिय कम्पनी डाबर नेपालको रक्सौल भन्सारमा क्लियरिङ एजेन्टको काम गर्ने आधिकारिक व्यक्ति हुन् । सिन्हाले हालसम्म डाबर नेपालसँगको कारोबार जारी राखेका छन् ।

डाबर नेपालले आयात गर्ने कच्चा पदार्थ र नेपालबाट भारत तथा अन्य मुलुकमा निर्यात हुने रियल जूस, च्यवनप्राश, जडीबुटीलगायतको रक्सौल भन्सारमा क्लियरिङ एजेन्टको काम गरिरहेको भन्सार स्रोतले जनाएको छ ।

राजस्व विभागले अशोक सिन्हा र निजकी छोरी निवेदिता सिन्हामाथि १८ करोड ६३ लाख रुपैयाँ राजस्व चुहावटसम्बन्धी मुद्दा अदालतमा दायर गरेको छ ।

करीब तीन महीनाको अनुसन्धानपछि राजस्व अनुसन्धान कार्यालय पथलैयाले सिन्हा परिवारमाथि साढे १८ करोड रुपैयाँ बिगोसहित कैद जरिवानाको माग गर्दै उच्च अदालत अस्थायी इजलास वीरगंजमा डेढ महीनाअघि मुद्दा दायर गरेको जनाएको छ ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख टङ्क पाण्डेका अनुसार रक्सौलका बासिन्दा सिन्हा र निजकी छोरीको खोजी कार्य गरे तापनि फेला नपरेको, फेला परेको सुनसम्बन्धी बिलबिजक पेश नगरिएपछि अदालतमा मुद्दा दायर गरिएको हो ।

सिन्हा र निजकी छोरी बस्ने वीरगंज–५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टको तेस्रो तलाको ३०३ नम्बरको फ्ल्याटबाट गत असोज ३० गते २३ किलो ९ सय ९७ ग्राम सुन र सुनको गहना तथा केही चाँदीका गहनासमेत बरामद भएको थियो ।

तत्कालीन पर्सा प्रहरी प्रमुख गङ्गा पन्तको टोलीले बरामद गरेको उक्त सुन राष्ट्र बैंकमा राजस्व अनुसन्धानमार्फत बुझाइसकिएको र अन्य कागजातको अनुसन्धानबाट सिन्हा परिवारले सिद्धार्थ बैंकमार्फत करोडौं रुपियाँको कारोबार गरेको राजस्व चुहावटसम्बन्धी अभियोग पत्रमा उल्लेख छ ।

डाबर नेपालका मानव संसाधन प्रबन्धक मनोज भगतसँग यसबारेमा बुझ्दा आफूले पनि अशोक सिन्हाको सुनकाण्डबारे सञ्चारमाध्यमबाट थाहा पाएको बताए । उनले सिन्हाको डाबर नेपालसँगको कारोबारबारे विस्तृत जानकारी नभएको भन्दै यदि उनको कम्पनीसँग काम भइरहेको रहेछ भने आगामी दिनमा उनीसँगको सम्झौता रद्द गराउने बताए ।

कहाँ छन् सिन्हा र निजकी छोरी

सुन प्रकरणमा फरार भई साढे १८ करोड राजस्व हिनामिनाको मुद्दा खेपिरहेका भारतीय भन्सार क्लियरिङ एजेन्ट अशोक सिन्हा हाल रक्सौलमैं बसिरहेको सूचना प्राप्त भएको छ ।

भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी रक्सौलका विधायक प्रमोदकुमार सिन्हाका भाइ भएकाले उनलाई राजनीतिक संरक्षण रहेको रक्सौलका बुद्धिजीवीहरू बताउँछन् ।

निजकी छोरी निवेदिता सिन्हाको चार महीनाअघि विवाह भएर भारतको उत्तराखण्ड राज्यको नैनीतालमा बसोबास गरिरहेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here