प्रस, वीरगंज, २६ असार
ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा तालाबन्दी गरिएको छ । नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अगुवाइमा शुक्रवार दिउँसोदेखि अनिश्चितकालीन तालाबन्दी गरिएको हो । परीक्षा शाखामा कार्यरत कर्मचारीले अनियमितता गरेको र विद्यार्थीमाथि विभेद गरेको आरोप लगाउँदै एकाइ अध्यक्ष आसिफ अहमद नेतृत्वको टोलीले शुक्रवार साँझ ४ बजे तालाबन्दी गरेको हो ।
क्याम्पस प्रमुख उमेश चौरसियाको कार्यकक्ष र परीक्षा शाखामा तालाबन्दी गरिएको छ । हाम्रै आँखाअगाडि एकजना विद्यार्थीको प्रमाणपत्र तथा आवश्यक कागजात नहुँदा काम नगरेको र कुनै नेतालाई फोन गर्दा नेताले पठाएको व्यक्तिलाई विनाप्रमाणपत्र फाराम बुझियो,” उनले भने, तर हामीले आइतवार प्रमाणपत्र ल्याइदिन्छौं भन्दा पनि हाम्रो फाराम बुझिएन । यो सरासर विभेद हो ।”
पहुँच हुने विद्यार्थीलाई नियम नलाग्ने र पहुँच नभएका विद्यार्थीहरूलाई भने दुःख दिने परिपाटी कदापि सह्य नहुने भन्दै यस्तो गतिविधि रोक्न क्याम्पस प्रशासनको ध्यानाकर्षण गराइएको छ । सो मुद्दामा ऐक्यबद्धता जनाउँदै जनता समाजवादी पार्टी जसपाको विद्यार्थी सङ्घ पर्साका अध्यक्ष फिरोज बादशाह, विद्यार्थी नेता प्रकाश रौनियारलगायतको तालाबन्दीमा सहभागिता थियो ।
सो सम्बन्धमा ठाकुर राम बहुमुखी क्याम्पसका प्रमुख उमेश चौरसियाले विद्यार्थीहरूले ताला लगाउन हतार गरेको टिप्पणी गरे । क्याम्पस प्रमुख चौरसियाले घटनाबारेमा दुवै पक्षसँग बुझेर यदि कर्मचारीको गलती भए सम्झाउने र विद्यार्थीहरूको मागलाई सम्बोधन गर्ने बताए ।