धर्मेन्द्र चौरसिया, ओमप्रकाश चौधरी, २५ असार/
अविरल वर्षासँगै आएको बाढीले पर्सेली किसानका धानबालीलाई नराम्ररी क्षति पु-याएको छ । पर्साको थरुहट क्षेत्रमा अगहनी धान ८० प्रतिशत रोपाइँ भइसकेको थियो । अहिले रोपाइँ भएका खेत बाढीका कारण डुबानमा परेका छन् भने करीब १० प्रतिशत खेतमा रोपिएको धानबाली पूर्णरूपमा क्षति भएको अनुमान गरिएको छ ।
सामान्य अवस्था भएको भए अहिले थरुहट क्षेत्रका किसान धानखेतीमा गोडमेल गरी मल, विषादी छर्ने कार्यमा व्यस्त हुन्थे । तर खेत डुबानमुुक्त नभएकाले रोपाइँको एक सातापछि गोडमेल गर्न सकेका छैनन् र मल, विषादी छर्ने काम पनि ढिला भएको जीराभवानी गाउँपालिका–२ सेढवाका किसान रोगाही चौधरीले बताए ।
जगरनाथपुर गापा–३ का किसान विष्णुनाथ साह लगातारको पानीले खेतको आलीसम्म पानी जमेको र रोपिएको धान कुहिन थालेको बताउँछन् । उनले रोपनीको दश दिनपछि मल, विषादी प्रयोग गर्न नसकेर धानबाली बिग्रने र उत्पादन घट्न सक्ने भन्दै चिन्ता जाहेर गरे ।
यसैगरी, रोपाइँ गर्न बाँकी २० प्रतिशत किसानलाई पनि समस्या भएको छ । रोपाइँका लागि छरेको धानको बीउलाई बाढीले क्षति पु-याएको र नयाँ बीउ बनाएर रोपाइँ गर्दा ढिलो हुने भएकोले किसानहरूलाई समस्या भएको हो । उनीहरूले रोपाइँ गरेर बाँकी रहेकाहरूसँग बीउ सापटी लिइरहेका छन् । तर २० प्रतिशत किसानको लागि आवश्यक बीउ सापटी लिएर सम्भव नहुने तथा नयाँ बीउ तयारी गर्न कम्तीमा २० दिनभन्दा बढी समय लाग्ने भएकोले किसानको चिन्ता बढेको हो ।
थरुहट क्षेत्रमा वर्षाले नाला, कुलो र खोलामा बाढी आएर ठोरी, जीराभवानी, पटेर्वासुगौली, जगरनाथपुर गापाका केही धानबाली बगाएको किसानहरू बताउँछन् ।
थरुहट क्षेत्र सरह नै बजियान
(नहरदेखी दक्षिण) क्षेत्रमा यसपालि बाढीले खेत जलमग्न पारेकोले धानबाली प्रभावित हुने भएको छ । बजियानमा २५ प्रतिशत किसानले मात्र रोपाइँ गर्न सकेका छन् । ७५ प्रतिशत खेतमा रोपाइँ बाँकी छ । रोपाइँ पूरा गरेका किसानहरूलाई पनि थरुहटका किसान सरहको रोपाइँ सड्ने, कुहिने र मल, विषादीको प्रयोग नगर्न पाएकोमा बाली नसप्रने र उत्पादन घट्ने चिन्ता छ ।
पोखरियाका किसान शशिकान्त कुशवाहाले तीन बिघा खेत डुबानमा परेको बताए । उनले रोपनीका लागि तयार गरेको बीउ डुबानमा परेकोले समस्या झेल्नुपरेको बताए । बीउ डुबानमा परेको तर डुबान नभएको अन्यत्र खेतमा रोपनी गर्नुपर्ने किसानहरूले सापटी लिन शुरू गरेको बताए । पोखरिया नगरपालिकाको दक्षिणी भागका खेतहरू बढी डुबानमा परेका छन् । डुबानमुक्त भएका खेतहरूमा रोपनी शुरू भएको छ र किसानहरूले सापटीमा बीउ लिएर रोपनी गरिरहेका छन् । बजियानका छिपहरमाई, कालिकामाई, विन्ध्यवासिनी गापा तथा बहुदरमाई नपा र वीरगंज महानगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन् ।