प्रस, सप्तरी, २५ असार
सप्तरीमा दुई पक्षबीचको कुटपिटमा एकजनाको मृत्यु भएको छ । वैदेशिक रोजगारका लागि विदेश जानेका परिवार र विदेश पठाइदिने व्यक्तिबीच भएको कुटपिटमा परी खडक नगरपालिका वडा नं ९ लालपट्टी टोलका ५८ वर्षीय दाउद मियाँको मृत्यु भएको हो ।
वैदेशिक रोजगारमा पठाएकोमा राम्रो काम नपाएको भन्दै विदेश जानेका परिवार र एजेन्टबीच कुटाकुट हुँदा वैदेशिक रोजगारमा जाने युवकका पिताको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट टाउकोमा चोट लागेर घाइते मियाँको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले बताए ।
राजविराज नगरपालिका वडा नं ९ निवासी एजेन्ट सनाउल अहमद लालपट्टीस्थित मामाको घर पुगेको बेला छोरालाई वैदेशिक रोजगारमा पठाएका इजराइल र अख्तरसँग सनाउलको विवाद भएको थियो । सो क्रममा एजेन्ट सनाउल पक्षको प्रहारबाट मियाँको ज्यान गएको स्थानीयले बताए । कुटपिटमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।