प्रस, परवानीपुर, २४ असार/

जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली भिœयाइएको सामानसहित एक ट्रक र नेपालबाट तस्करीको माध्यमबाट भारत लैजाँदै गरेको केराउ र स्याउ लोड रहेका दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ ।

प्रदेश नं २ प्रहरी कार्यालय, जनकपुरको सूचनाको आधारमा पर्सा प्रहरीले ना.१त ७०४५ र ना.४त ८५६२ नं का ट्याक्टर नियन्त्रणमा लिएको जिप्रका पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । वीरगंज महानगर–१९ बहुअरीतर्फ जाँदै गरेका २४ हजार किलो स्याउ र ६ हजार किलो केराउ लोड दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको उनले बताए ।

मङ्गलवार राति करीब १२ बजे नियन्त्रणमा लिएको उनले जानकारी गराए । प्रहरीले चेकजाँच गर्न खोज्दा ट्याक्टरका चालकहरू फरार भएका उनले बताए । बरामद सामानको अहिलेसम्म कसैले दाबी नगरेको उनको भनाइ छ । बरामद स्याउ, केराउ र ट्याक्टर आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालय पठाइएको उनले बताए ।

यसैगरी, वीरगंज महानगर–८ घण्टाघरमा खुला सामान बोकी नारायणघाट जाँदै गरेको जय बजरङ्ग बली ट्रान्सपोर्टको ना.२ख ८६१७ नम्बरको ट्रक नियन्त्रणमा लिएको उनले बताए । भन्सार छलीका करीब रु २० लाखको सामान सो ट्रकबाट बरामद भएको उनले बताए ।

बिल बिजक नभएको र दुई दिनसम्म सो सामानको मागदाबी नगरिएपछि हिजो आवश्यक कारबाईका लागि राजस्व अनुसन्धान विभाग पथलैया बारा एकाइ कार्यालयमा बुझाइएको प्रवक्ता खनालले बताए । ट्रकका चालक पनि फरार हुन सफल भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here