कान्डला, २४ असार/एपी

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जाकोब जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । अदालतको मानहानि गरेको अभियोगमा उनलाई अदालतले १५ महीने जेल सजाय तोकेको छ । प्रहरीले पक्राउ गर्न लागेको भन्दै खबर पाएपछि उनले आत्मसमर्पण गरेको जनाइएको छ ।

स्थानीय समय अनुसार बुधवार अबेर उनी आफ्नो निवासनजीकै रहेको जेल पुगेको उनी निकटका अधिकारीहरूले जानकारी दिएका छन् । उनलाई समय तोकेर आत्मसमर्पण गर्न निर्देशन दिएकोमा समयावधि सकिनै लाग्दा मात्रै उनले आत्मसमर्पण गरेका हुन् ।

सन् २०१८ मा आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेका ७९ वर्षीय जुमाका अझै पनि हजारौं समर्थक छन् । उनी आफैं आत्मसमर्पणका लागि गएको विषयलाई उनका समर्थकहरूले इमानदारितापूर्वक अदालतको आदेश पालना गरेको रूपमा व्याख्या गरेका छन् ।

उनकी छोरीले पनि अदालतको आदेश पालनाका लागि आफ्ना पिता जाँदै गरेको र उनको मनोबल उच्च रहेको सामाजिक सञ्जालमा लेखेकी छन् । उनलाई आफ्नो नौ वर्षे कार्यकालमा भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेश गर्न केही समय अगाडि दिइएको आदेश नमानेको आरोपमा १५ महीना लामो जेल सजाय सुनाइएको थियो ।

दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपतिलाई जेल सजाय सुनाइएको यो नै पहिलोपटक भएको जानकारहरू बताउँछन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here