सोल, २४ असार/सिन्ह्वा

दक्षिण कोरियामा कोभिड–१९ का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ। यहाँ गएको २४ घण्टायता कोभिड–१९ का सङ्क्रमितहरू एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै भेटिएका छन् ।

प्राप्त समाचार अनुसार यहाँ गएको २४ घण्टायता मात्र कोभिडका सङ्क्रमितहरू यतिधेरै बढेका हुन् । दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारी अनुसार यहाँ गएको २४ घण्टामा १ हजार २७५ जना सङ्क्रमित पाइएका छन् ।

योसँगै दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको सङ्ख्या १ लाख ६४ हजार २८ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्तायतादेखि कोभिडका सङ्क्रमितहरूको सङ्ख्या बढ्दो देखिएको छ ।

बुधवार मात्र पनि यहाँ देखिएको १ हजार २१२ जना सङ्क्रमित भेटिएका थिए । यहाँ बिहीवार देखिएको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यसैले यहाँका अधिकारीहरूले यहाँ कोभिडको चौथो चरण शुरू भएको बताएका छन् ।

दक्षिण कोरियामा केही हप्ताअघिसम्म ७०० भन्दा बढी सङ्क्रमित नरहेकामा अहिले आएर भने प्रत्येक दिन एक हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् । यो सङ्ख्यामा वृद्धि भएर बुधवार र बिहीवार सङ्क्रमितहरू पाइएको समाचारमा जनाइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरूले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएका सङ्क्रमितको सङ्ख्यालाई देशव्यापी तथ्याङ्कको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५३ प्रतिशत बढी देखिएको हो ।

यो तथ्याङ्क आएपछि यहाँका स्वास्थ्य अधिकारीहरूले दक्षिण कोरिया औपचारिकरूपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका छन् ।

बिहीवार देखिएका यी सङ्क्रमितहरूमा ६०० भन्दा बढी राजधानी सोलकै रहेका पाइएको छ । यस कारण पनि धेरैपछि यति धेरै सङ्ख्यामा सङ्क्रमित देखिंदा देश कोरोना महामारीको अर्काे चरणमा प्रवेश गरेको बताइएको हो ।

यहाँ कोरोनाविरुद्धको खोप अभियानलाई व्यापक बनाइएको छ । जसका कारण यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा भने कमी देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जनाएका छन् ।

भारतमा सङ्क्रमितको सङ्ख्यामा वृद्धि
नयाँ दिल्ली/एएनआई

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको छ । पछिल्ला केही दिन लगातार घट्दै गएकोमा बिहीवार फेरि वृद्धि भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ४५ हजार ८९२ जना नयाँ सङ्क्रमित थपिएका छन् । यसअघि बुधवार एक दिनमा नयाँ सङ्क्रमितको सङ्ख्या ४३ हजार ७३३ रहेको विवरण सङ्घीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।

भारतमा अहिले सङ्क्रमित अवस्थामैं रहेकाको कुल सङ्ख्या भने चार लाख ६० हजार ७०४ रहेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमितमध्ये १.५ प्रतिशत मात्रै अहिले सङ्क्रमित अवस्थामा छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८१७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण कुल मृतकको सङ्ख्या चार लाख पाँच हजार २८ पुगेको छ ।

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४० लाख नाघ्यो
बेइजिङ/सिन्ह्वा

कोरोना शुरू भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४० लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरमा ४० लाख ९२९ जनाको मृत्यु भएको छ । विश्वभरि कुल सङ्क्रमितको सङ्ख्या १८ करोड ५० लाख २९ हजार ९६० जना रहेका छन् । विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख ६७ हजार १३२ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ ।

विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख ५९४ मात्रा खोप लगाइयो
बाल्टिमोर/एएफपी

विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्क यस प्रकार रहेका छन् ।

चीनमा एक अर्ब ३३ करोड १६ लाख ७९ हजार मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३३ करोड ५ लाख ६० हजार ७३५ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्रजीलमा दश करोड ३० लाख ६२ हजार ६०९ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा आठ करोड २ लाख १२ हजार ६६८ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ । जर्मनीमा सात करोड ८६ लाख ७२ हजार ९२ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ ।

पोल्यान्डमा छ करोड ७ लाख ५९ हजार ७४४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा पाँच करोड ७२ लाख ७९ हजार १९८ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ । टर्कीमा पाँच करोड ५४ लाख ६३ हजार ४०० मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ । इटालीमा पाँच करोड ५४ लाख ५६ हजार २७६ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here