हरेक वर्ष असार, साउन र भदौ तीन महीना नदीजन्य पदार्थ उत्खनन गर्न पाइँदैन । यस अवधिमा वन पैदावार पनि कटान, मुछान तथा जङ्गलबाट निकासी, पैठारी गर्न नपाउने कानूनी व्यवस्था छ । हाम्रो मुलुकको मात्रै कुरा होइन, हामीकहाँ जस्तै हावापानी, मौसम तथा वातावरण मिल्ने अन्य मुुलुकमा पनि यही चलन छ । प्राणीजगत्को कल्याणका लागि जैविक विविधताको संरक्षण अनिवार्य शर्त हो । कुनै पनि मुलुकमा मनसून शुरू भएपछिको अवधिलाई सतर्कताको अवधि मानिन्छ । यस अवधिमा प्रकृतिलाई खलबल्याउने किसिमका कुनै पनि गतिविधि हुनुहुँदैन । अधिकांश प्राणीले बर्खायाम लाग्नुपूर्व नै आफ्नो सुरक्षित बासस्थानको जोहो गरेका हुन्छन् । दुलो, गुफा या गुँडमा बस्ने कतिपय प्राणीले उक्त अवधिको लागि आफ्नो आहारको समेत व्यवस्था गरेका हुन्छन् । त्यति बेला जमीन वा बोट, वृक्ष चलाउँदा जलचर, थलचर, उभयचर कुनै पनि प्राणीको लागि घातक हुन्छ । उनीहरूको बासस्थान उजाडिने, बिछोडिने र अस्तित्व धरापमा पर्ने अवस्था सिर्जना हुन सक्छ ।

बोटबिरुवाले पालुवा फेर्ने, नयाँ बिरुवा पलाउने, अङ्कुरण हुने, जरा फैलाउने तथा वृद्धि र विकास हुने अवधि पनि मनसून शुरू भएपछि नै हो । यस कार्यमा कुनै पनि कारणले खलल पुगेमा बोटबिरुवाको नियमित चक्रमा अवरोध पुग्छ । यसले वातावरण संरक्षणमा प्रत्यक्ष असर पर्ने र त्यो असरले मानवजगत्लाई क्षति पु¥याउँछ । बोटबिरुवा र नदी, खोला, खहरे, चुरे पहाड साथै मानवबीच प्रतिरक्षात्मक सम्बन्ध छ । बोटबिरुवा नभए चुरे रहँदैन । चुरेभन्दा माथि पहाडमा मानव बसोबासका लागि पनि बोटबिरुवा चाहिन्छ । मानवको लागि अन्न चाहियो, त्यो अन्न फलाउन माटो आवश्यक पर्छ । पहाडको पिठ्यूँमा अन्न फलाउने माटो अड्याएर राख्न बोटबिरुवाकै सहारा चाहिन्छ । बर्खाको बेला जमीनको सतहलाई खन्ने, खोतल्ने वा हल्लाउने तथा परकम्प दिने जस्ता कुनै पनि कार्यले जमीनको खदिलोपन फुस्कन्छ र जमीन कमजोर हुन्छ । जहाँ बोटबिरुवा छैन, त्यहाँ पनि जमीनको सतह कमजोर हुन्छ र भूक्षयले बाटो पाउँछ । जति धेरै भूस्खलन वा भूक्षय भयो, बर्खाको बेला त्यति नै नदी, खोला, खहरेले कटान, डुबान एवं धार परिवर्तन गर्ने बल पाउँछ । यसैले गर्दा ठूला प्राकृतिक विपद्हरू निम्तिएका हुन् ।

मुलुकले नागरिकको हितका लागि नियम कानून बनाएको हुन्छ । त्यसको पालना गर्नु नागरिकको परम दायित्व र सरोकार पनि हो । सर्वसाधारणको गाउँबस्तीमा खोला पस्दा वा बाढीपहिरो लाग्दा सरकार चलाउने नेतालाई खति हुने होइन । सर्वसाधारणलाई नै खति हुने कुरामा समाज किन मूकदर्शक बन्ने ? कानूनले निषेध गरेको समयमा तस्करले नदी उत्खनन् गरेर नदीजन्य पदार्थ ओसारिरहँदा नागरिक समाज सरकारको टाउकोमा दोष थोपर्दै रमिते बनेको छ । सरकारमा बस्नेहरू त त्यस्तै चाहन्छन् । कानून तोड्ने हिम्मत तस्करले त्यतिकै गर्दैन । कनेक्शन, सिन्डीकेट र सेटिङ मिलेकै हुन्छ । आखिर प्रत्यक्ष विनाश सहनुपर्ने सर्वसाधारणले हो । नागरिक एक हुँदा निरङ्कुश तानाशाहहरूको ठेगान लागेको इतिहास साक्षी छ । निस्स्वार्थ साथ लाग्ने हो भने तस्करलाई तह लगाउनु ठूलो कुरा होइन । तर यहाँ त समाज विकृत छ । तस्कर र अपराधीका मान्छे टोलसमाजभित्रै हरियो साँप बनेर बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here