प्रस, गरुडा, २२ असार/
रौतहटको वृन्दावन नगरपालिकामा दुर्लभ सेतो काग देखिएको छ। वृन्दावन नगरपालिका–४ पल्टुआमा स्थानीय उमेश यादवको खेतमा हरेक दिन एकचोटि देखापर्ने सेतो कागप्रति स्थानीयको जिज्ञासा बढेर गएको छ।
सेतो काग कतिखेर खेतमा आउला भनेर स्थानीय कुरेर बस्छन् र काग आउनासाथ कैयौं मानिस हेर्न पुग्छन्।
सेतो काग देखिएको खबर फैलिन थालेपछि धेरैतिरबाट यसबारे बुझ्न थालिएको स्थानीय उमेश यादवले बताएका छन्।
सामान्यतया काग गाढा कालो रंगको हुन्छ। सेतो काग देखिएपछि यसलाई दुर्लभ मानिएको छ। यस कागको रंग सेतो भए पनि बोली र अन्य व्यवहार सामान्य कागजस्तै रहेको स्थानीय बासिन्दा बताउँछन्।