प्रस, वीरगंज, २२ असार/
वीरगंज–१५ लक्ष्मनवामा कबाडको सामान खरीद–बिक्री गर्ने इजाजत लिएर हार्डवेयर सामान बेच्ने जय माता दी टेडर्सलाई रु ५० हजार जरिवाना गर्दै कारबाई गरिएको छ ।
उजूरीको आधारमा सोमवार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, पर्साको टोलीले कारबाई गरेको हो ।
कार्यालय प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त अनुगमन टोलीले इजाजत लिएकोभन्दा फरक काम गरेकोले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को (ट) बमोजिम कसूर गरेकोले सोही ऐनको दफा ३९ को (घ) बमोजिम तत्काल जरिवाना गर्दै कारबाई गरिएको वाणिज्य कार्यालय पर्साका सूचना अधिकारी दिलीपखङ्ग खत्वेले जानकारी गराए ।
जरिवाना रकम सात दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा दाखिला गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ ।