प्रस, निजगढ, २१ असार

बाराको निजगढस्थित क्रसर उद्योगहरूले प्रयोगमा नआउने तथा बिक्री नहुने आकारका गिट्टी खोलामा फ्याँक्दा जोखिम बढेको छ । खोलामा फालेको मसिनो गिट्टीले मानिस, पशु चौपाया, साथै वन्यजन्तुहरूको ज्यान जोखिममा परेको हो ।

निजगढका विभिन्न आठवटा क्रसर उद्योगले प्रयोगमा नआउने १० एमएम आकारभन्दा मसिनो आकारका गिट्टी नदी, खोला, खहरेमा जथाभावी फ्याँकिरहेका छन् । यसरी विसर्जित मसिनो गिट्टी नदी उत्खनन गर्दा बनेका खाडलमा र खोलाको नदीउकास बगर क्षेत्रमा ठूलो परिमाणमा रहँदा वर्षाको बेला उक्त क्षेत्र दलदलमा परिणत हुने गरेको छ ।

यस्तो दलदलमा कुनै कारणवश मानव तथा चौपाय फस्न गयो भने बाहिर निस्कनुको साटो भासिएर डुब्ने निश्चित छ । बकैया खोलामा खनिएको खाडलमा परेर केही वर्ष पहिले दुईजना महिलाको ज्यान गएको थियो भने अवनिश क्रसर उद्योगले खनेको खाडलमा नुहाउने क्रममा तीनजनाको ज्यान गइसकेको छ । निजगढ आसपासको दलदलेमा यसअघि कैयौंपटक चौपायहरू फसिसकेका छन् ।

रातको समय वा भेलबाढी आएको बेला मसिनो गिट्टी कहाँ छ भन्ने यकीन गर्न नसक्दा मानिस पनि फस्ने र ज्यान जान सक्ने खतरा बढेको छ । नदी किनारा तथा सो आसपास मजदूरी गर्ने सुकुमबासी, खोला आरपार गर्न बाध्य गोठाला, घाँस तथा दाउरा गर्नेहरूलाई क्रसरद्वारा विसर्जित गिट्टीले उच्च जोखिम निम्त्याएको छ ।

निजगढ नगरपालिकाले ग्रेभल, ढुङ्गा, बालुवा उत्खननका लागि ठेक्का लगाएपछि एक्साभेटरको प्रयोगले खोलाबगरमा ठूला खाडलहरू बनेका छन् । स्थानीय सुकुमबासी मजदूरहरूले पनि नदीजन्य पदार्थ सङ्कलन गर्दा जताततै ठूला र गहिरा खाडलहरू बनाएका छन् । प्रयोगमा नआउने गिट्टी खोलाभित्रै फाल्दा त्यही खाडलहरूमा गएर जम्मा हुन्छ । यसरी फ्याँकेको गिट्टी केही वर्ष खदिलो नहुने भएकोले दलदलमा परिणत हुन्छ ।

मसिना गिट्टीले मात्रै खाडलहरू भरिंदा मानिस, पशु चौपाय, वन्यजन्तुसमेत धस्ने, गाडिने भई ज्यान जान सक्ने थाहा भएर पनि स्थानीय तह, जिल्ला प्रशासन कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय बारालगायतका निकायहरू मूकदर्शक बनेका छन् ।

उद्योगका नाममा मानव, पशु चौपाया, वन्यजन्तुहरूको संवेदनशीलता माथि लापरवाही गर्ने क्रसर उद्योगहरूलाई अविलम्ब कारबाही गर्नुपर्ने निजगढका बासिन्दाहरूको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here