बेइजिङ, २१ असार/एएफपी
संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताएका छन् । उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिए ।
उनले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिरहेका देशहरूले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा जोड दिए । एक भिडियो कन्फ्रेन्समा बोल्दै उनले भने– यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी छ ।
उनले अहिले जलवायु परिवर्तनको चपेटामा पनि मानिसहरू परिररहेका प्रसङ्ग उल्लेख गर्दै जलवायु परिवर्तनले मानिसहरूको बिस्तारै अर्थात् नजानिंदोरूपले ज्यान लिइरहेको र यो कोरोना भाइरसले चाँडो चाँडो ज्यान लिएको बताए ।
यी दुवै समस्याका विरुद्धमा विश्व एक भएर लड्नुपर्नेमा पनि उनले सो कन्फ्रेन्समा जोड दिए । रासस