प्रस, वीरगंज, २१ असार/
विपद् व्यवस्थापन समिति पर्साको टोलीले सोमवार भेडाहा नदीको निरीक्षण गरेको छ । हालै आएको बाढीबाट भेडाहा नदीले कटान तथा डुबान गरेका क्षेत्रको टोलीले निरीक्षण गरेको हो । लालपर्सा, प्रसोतीपुर, बेलवा, इस्लामपुर, मिलनचोकलगायतका डुबान क्षेत्रको निरीक्षण गरिएको थियो । भेडाहा खोलामा आएको बाढीले सो क्षेत्रका सयौं बिघा जमीन डुबानमा परेको र कटान गरेर क्षति गरेको थियो ।
यसैगरी, बाढीबाट गाउँका सयौं घर डुबानमा परेका थिए । बाढी नियन्त्रणका लागि वीरगंज महानगरपालिकाले गत वर्ष भेडाहा नदीको पूर्व किनारामा तटबन्ध बनाएको थियो तर सो तटबन्धलाई पनि बाढीले बगाएको छ ।
निरीक्ष्ण टोलीमा सांसद प्रदीप यादव, नगरप्रमुख विजयकुमार सरावगी, जिसस पर्साका सभापति नेकमहम्मद अन्सारी, प्रजिअ पीताम्बर घिमिरे, प्रउ बेलबहादुर पाण्डे, सशस्त्र प्रउ राजेन्द्र खड्कालगायत सहभागी थिए ।