• सम्पादकीय

वीरगंज मात्र होइन, भारतसँग सीमा जोडिएका सबै भेगका पहुँच भएका नेपालीहरू भारत गएर कोभिडविरुद्ध खोप लिइरहेका छन् । यसो त विदेश गएर औषधोपचार गर्ने चलन जहाँ पनि छ । भारतकै मानिस वीरगंजलगायत विभिन्न नेपाली आँखा अस्पतालहरूमा उपचार गराउँछन् । नेपालका ठूला नेताहरूका लागि स्वदेशमा सम्भव उपचार पनि विदेश गएर गराउनु स्टेटस सिम्बल बन्ने गर्दछ ।

कुनै दुर्घटनामा सामान्य तछारिएको घाउ निको पार्न राजधानीको महँगो अस्पताल ताक्ने मानिसको प्रवृत्ति नै बनेको छ । नपाएर, आफ्नो पैसा खर्च गरेर औषधोपचार गर्नु स्वाभाविक हो । तर विश्वभरि फैलिएको महामारीविरुद्ध विदेशमा गई अनियमित तरीकाले खोप लगाउन बाध्य हुनु व्यक्तिका लागि होइन, सरकारका लागि लाजमर्दो कुरा हो । यो सत्य हो, सीमावर्ती क्षेत्रमा बस्ने नेपाली नागरिक बढी मूल्य तिरेर भारतमा गई खोप लगाइरहेका छन् ।

आफ्ना भारतीय नातेदारहरूको सहयोगमा यस्तो लाभ लिइरहेका छन् । हुलमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु भनिएकै छ । वर्ष दिनभन्दा बढी समयदेखि कोभिडको भयले घरमा थन्किनु र अलिकति लापरवाहीले ज्यान गुमाउनुको साटो कुनै उपायले खोप लगाउनुपर्छ ।

तर यसले नागरिकमा राष्ट्रियताको भाव लोप हुन्छ । आफूले लिएको सहयोगको प्रतिदान पनि गर्नुपर्छ । भारत विशाल देश भएकोले उसलाई खासै फरक नपर्ला, तर नेपालले प्रतिदान दिनुपर्दा कष्टकर हुन्छ । नेपालले पेट्रोलियम पदार्थको मूल्य भारतको मूल्यबराबर बनाउनुपर्ने बाध्यता त्यसै प्रतिदानको भावनालाई छल्नका लागि हो । पेट्रोलियम पदार्थको भाउमा अलिकति पनि तलमाथि भयो कि नेपालबाट तस्करी भएर भारततिर ओरालो लागिहाल्छ ।

सरकारको निकम्मापनले दुई देशबीचका नागरिकमा सहयोग आदानप्रदान तीव्रताले हुन्छ । सहयोग आदानप्रदान नराम्रो होइन यदि त्योे नियम–कानूनको परिधिमा छ भने । तर तस्करी त नियमानुसार हुँदैन १ बाध्यताले गरिएको गैरकानूनी आदानप्रदानले सानो देशलाई मर्का पर्छ । र यसले नागरिकमा राजस्व छल्ने प्रवृत्ति विकसित हुन्छ । वृत्ति र प्रवृत्तिको कुरा एकातिर पन्छाइदिने हो भने पनि सरकार नागरिकप्रति उत्तरदायी त हुनैपर्छ । नागरिकको ज्यानको सुरक्षाका लागि औषधिको उपलब्धतालाई सहज बनाउनैपर्छ । जहाँबाट होस्, जसरी होस् नेपाली नागरिकले कोरोनाविरुद्ध खोप पाउनैपर्छ ।

सत्तामा बस्नेहरू जहिले पनि नेपालको वैदेशिक सम्बन्ध सुमधुर रहेको राग अलापिरहन्छन् । देश सानो भएपनि औकातभन्दा बढी देशहरूसँग नेपालको दौत्य सम्बन्ध छ, तर अहिले परेको बेला किन सुमधुर सम्बन्ध भएका मुलुकहरूसँग खोप लिन सक्दैन ? समृद्ध र धनी मुलुकहरूले त चाहिनेभन्दा बढी खोपको मात्रा हत्याएर राखेका छन् । बोलीमा चतुर र काममा लाछी सरकारको यस्तै चाला हुन्छ ।

अति धारिलो चुलेसीले कुनै रूख ढाल्न सकिंदैन । चुलेसीभन्दा धारिलो भाषा बोल्ने हाम्रा राजनेताहरू जब कुनै गा-हो काम गर्ने बेला हुन्छ, आफूलाई नाकारा नै साबित गर्न पुग्छन् । प्रधानमन्त्री ओलीको शब्दको झटारोको तीव्रता कसलाई थाहा छैन, तर भारतीय कम्पनीसँग सम्झौता भएको औषधिको मात्रा पनि ल्याउन सकेनन्, भारतलाई आफैं चाहिएकोले दिएन भन्छन् । खासमा कुरा त कमिशनको छ । लोभी–पापी र फुइँ लगाएर रजाइँ गर्न पल्केका नेपाली नेताहरूबाट अरू आस नै के गर्न सकिन्छ ? यो भतुवापनको पराकाष्ठा हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here