प्रस, परवानीपुर, २० असार/

नेपाल सरकारले कोभिशिल्ड खोप ल्याउन नसकेपछि सीमावर्ती क्षेत्रका नेपालीहरू भारतीय बजारमा गएर कोभिशिल्ड खोप लगाउन थालेका छन् । भारततर्फ पहुँच तथा आफन्तजन भएकाहरूले भारतीय बजारमा गएर कोभिशिल्ड लगाउने गरेका छन् ।

वीरगंजका एकजना बासिन्दाले नाम नछाप्ने शर्तमा भने मेरो परिवारका सबै सदस्यले सीमावर्ती भारतीय बजार रक्सौलमा पुगेर कोभिशिल्डको खोप लगाए । खोपको प्रतिमात्राको नेरु दुई हजार दुई सय तिरेर खोप लगाएको उनले बताए । “चार महीनाभित्र खोपको दोस्रो मात्रा लगाइसक्नुपर्ने हो, तर खोप आएन । रक्सौलकै एकजना आफन्तजनको सहयोगमा खोप लगाएका हौं,” उनको भनाइ थियो ।

भारतको बिहारमा सबैजनाले खोप लगाइरहेका छैनन् । डरको कारण खोप नलगाउँँदा बिहारका विभिन्न जिल्लाका स्वास्थ्य चौकी र शहरमा खोप लक्ष्यभन्दा बढी भएको छ । नेपालीहरूले आफन्तजनको परिचयपत्र लिएर लाइनमा बसेर निश्शुल्करूपमा पनि खोप लगाइरहेको रक्सौलका सञ्चारकर्मीहरू बताउँछन् ।

उनीहरूका अनुसार भारतमा उत्पादन हुने कुल खोपको २५ प्रतिशत खोप निजी क्षेत्रलाई सरकारले बिक्री गरिरहेकाले कतिपय नेपालीले महँगो शुल्क तिरेर खोप लगाइरहेका छन् । यसमा भारतीय स्वास्थ्यकर्मी र अस्पतालका सञ्चालकहरू पनि मिलेमतो छ । नेपालमा कोभिशिल्डको खोपको पहिलो मात्रा २७ लाख नागरिकले लगाइसकेका छन् भने पर्सामा मात्रै ३ हजार ५ सयजनाले लगाएको स्वास्थ्य कार्यालय पर्साको तथ्याङ्क छ ।

भारतमा खोप लगाउनेमा दोहोर नागरिकता लिएका तथा भारतीय परिचयपत्र हुने नेपालीहरू बढी छन् । वीरगंजका अधिकांश औद्योगिक प्रतिष्ठानका उद्योगी, व्यवसायी तथा कर्मचारीले भारतमैं खोप लगाइरहेका वीरगंजका एकजना उद्योगीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here