नितेश कर्ण, वीरगंज, २० असार

यस वर्षको वर्षापछि आएको बाढीमा परी ७९ घरपरिवारका ३१६ जना महिला, पुरुष, बालबालिका विस्थापित हुनुपरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । पोखरिया, सेढवा, पाँडेपुर, बुढगाई, रानीघाट, श्रीसिया, इनर्वा प्रहरी चौकीको रिपोर्ट अनुसार असार १७ देखि १९ गते तीन दिनको बाढीबाट ७९ घरपरिवारका ३१६ जना प्रभावित भएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

८२ जना महिला, १४९ जना पुरुष र ९३ जना बालबालिका बाढीले विस्थापित भएका प्रहरी तथ्याङ्कले जनाएको छन् । विस्थापितहरू आफन्त, स्थानीय विद्यालय, वडा कार्यालय, सार्वजनिक सडक तथा छिमेकीकहाँ आश्रय लिइरहेको प्रवक्ता खनालले बताए । बाढीबाट प्रहरी चौकी खेस्राहा पनि प्रभावित भएको छ । सो चौकीलाई हाल हरिहर निमावि खेस्राहामा सारिएको प्रवक्ता खनालले बताए ।

यसैबीच, असार १७ देखि १९ गतेसम्म तीन दिनमा चट्याङबाट छजना महिला र दुईजना पुरुष गरी आठजना घाइते भएका छन् भने तीनजना पुरुष र एकजना महिला गरी चारजनाको मृत्यु भएको छ । पानीमा डुबेर एकजना पुरुषको र अन्य विपद्बाट एकजना महिलाको मृत्यु भएको प्रवक्ता खनालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here