जेनेभा, १८ असार/सिन्ह्वा
विश्वका झन्डै एक चौथाइ जनसङ्ख्यालाई अझै पनि सफा पानीको अभाव रहेको पाइएको छ । गत वर्ष सन् २०२० मा गरेको अध्ययनले विश्वका हरेक चारमध्ये एकजनालाई शुद्ध र सफा खानेपानीको अभाव रहेको देखाएको हो ।
विश्व स्वास्थ्य सड्डठन र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले बिहीवार सार्वजनिक गरेको विवरणमा खानेपानीको अभावको अवस्था नराम्रो देखिएको उल्लेख छ । सफा पानीको उपभोग गर्न नपाएकाहरूलाई विभिन्न प्रकारका रोगको समस्या हुन सक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्नुपर्नेमा दुवै निकायका अधिकारीहरूले जोड दिएका छन् ।
उनीहरूले कोरोना भाइरसको महामारीको असर पनि सफा पानी खान नपाउनेहरूलाई बढी पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । कोरोनाबाट बच्नका लागि सफा पानी र साबुनले हात धुन अनिवार्य रहेकाले पनि सफा पानीको अभावमा कोरोना भाइरसबाट बच्न गा-हो हुने अधिकारीहरूले उल्लेख गरेका छन् ।
एक तथ्याङ्क अनुसार विश्वका हरेक दशमध्ये तीनजनाले साबुन पानीले पर्याप्त हात धुन नपाएको देखिएको छ । “कोरोना भाइरसबाट जोगिनका लागि हात धुने कार्य अति महत्वपुर्ण कार्य हो, यो नै अति धेरै प्रभावकारी उपाय हो, त्यसैगरी अन्य धेरै रोगबाट जोगिन पनि सफा पानीले हात धुनुपर्दछ, त्यसैले आम मानिसलाई रोगबाट बचाउन सफा पानीको आवश्यकता पर्दछ,” विश्व स्वास्थ्य सड्डठनका महानिर्देशक टेड्रोस अदानोम घेब्रेयसले भने ।
त्यसैगरी, युनिसेफका कार्यकारी निर्देशक हेनरैत्ता फोरले पनि विश्वका लाखौं बालबालिका सफा पानी उपभोग गर्न वञ्चित हुनु दुःखद भएको बताए । तर पहिलाको भन्दा अहिले सफा पानीको प्रयोग गर्न पाउनेहरूको सङ्ख्यामा भने वृद्धि भएको उनले जानकारी दिए ।
सन् २०१६ देखि सन् २०२० सम्ममा सफा पानीको प्रयोग गर्न पाउनेको सङ्ख्यामा चार प्रतिशतले वृद्धि भएको उल्लेख गरे ।उनका अनुसार सन् २०१६ मा विश्वका ७० प्रतिशतले मात्रै सफा पानी प्रयोग गर्न पाएको तथ्याङ्क सार्वजनिक भएको थियो । रासस