वर्षा भरखर शुरू भएको छ। असार १५ आसपासको अवधि खेती गर्न योग्य मनसुनको अवधि हो। किसानलाई रुझ्दैभिज्दै खेती गर्न अनुकूल हुने भएकाले यस अवधि खेतीपातीको लागि उत्तम मानिन्छ। ‘असार महीनामा वर्षा शुरू, साउनमा मध्यम झरी, अनि भदौ १५ सम्म भदौरे भेल र भदौ अन्त्यदेखि वर्षाले विश्राम लिन्छ भन्ने मान्यता छ। उक्त मान्यता अनुसार अहिले त वर्षा शुरूको समय हो। साउने झरी र भदौको भेल अर्थात् भेलबाढी आउन बाँकी नै छ। यसपालि वर्षाको शुरूमा नै पर्सा जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा डुबान र कटान शुरू भएको छ। जिल्लाका कतिपय ग्रामीण क्षेत्र विगतका वर्षामा पनि डुबान हुने गरेको थियो। बितेको वर्षदेखि भने जिल्लामा डुबान क्षेत्र थप भएको छ। विगतमा डुबानरहित तर नदी कटानको समस्या भोग्दै आएको ठोरी क्षेत्र पछिल्लो दुई वर्षदेखि डुबानमा पर्न थाल्यो। यसपटक ठोरीको सयौं घर, गाउँ डुबानमा परिसकेका छन्।
इतिहासमा कहिल्यै डुबान नभएको ठोरी क्षेत्र डुबानमा पर्नुको मुख्य कारण हुलाकी सडक हो। उत्तरबाट दक्षिणतर्फ पानी ढोलो रहेको उक्त क्षेत्रमा वर्षाको पानी पनि उत्तरबाट दक्षिणतर्फ नै बग्ने हो। यसरी बग्ने पानी खेतका गरा, पाटा एवं किनाराका सिंचाइ कुलोहरू हँुदै गन्तव्यतर्फ जाने गरेको थियो। कुनै कृत्रिम अवरोध नहुँदा जतिसुकै वर्षा भएपनि पानी जम्ने सम्भावना थिएन। हाल वीरगंज–ठोरी हुलाकी सडक पूर्व–दक्षिणबाट उत्तर–पश्चिमतर्फ लम्बाइ परेको छ। खेतको सतहभन्दा सडकको सतह पाँचदेखि दश फीटसम्म उच्च पारी निर्माण गरिएका छन्। यसरी बनेको सडकले वर्षाको पानीलाई उसको बाटोमा बग्न नदिई बाँधको काम ग–यो। फलस्वरूप सडकभन्दा उत्तरतर्फका क्षेत्रहरू अहिले पोखरीमा परिणत भएका छन्। यसले विभिन्न गाउँटोल जोखिममा पर्नुका साथै सयौं बिघा अन्न तथा तरकारी बाली डुबानमा परी नष्ट हुने क्रममा छ। प्रकृतिको गति जबरजस्ती अवरोध गर्दा विनाश निम्तिन्छ। यसर्थ नियन्त्रणभन्दा पनि उचित व्यवस्थापन एवं अनुकूल निकास दिनु बुद्धिमता हुन्छ। तर ठोरीको हुलाकी सडक निर्माणमा यसो गरिएको छैन।
हुलाकी सडक निर्माण गर्दा पानी जम्ने सम्भावित स्थान र विगतदेखि चलिरहेका कुलो, नाला, खोल्सीहरू रहेका स्थानमा ससाना कल्भर्टहरू प्रशस्त निर्माण गर्नुपर्नेमा त्यसो हुन सकेन। जति कल्भर्ट बनाइएका छन, त्यो भिरालो सतहको क्षेत्रका लागि नभएर समथर भूभागमा निर्माण हुने कल्भर्टको ढाँचामा निर्माण गरिएका छन्। त्यो पनि प्राविधिकले ठहर गरेको स्थान वा स्थानीय अनुभवीहरूले ठहर गरेको आवश्यकता अनुसार भन्दा पनि भागबन्डाको आधारमा र झमेला गर्नुनपर्ने स्थान रोजेर निर्माण गरिएका छन। दूरी बढाएर राखिएका कल्भर्टहरूमा पानीको मुस्लो नै खस्ने हुँदा त्यसले जमीन कटान गर्ने र बिस्तारै खहरेको रूप लिने सङ्केत देखाएको छ। वर्षाको सुरुआतमा नै यो अवस्था छ भने साउने झरी र भदौरे भेलमा के होला ? सडक निर्माण कम्पनीको मात्रै दोष होइन। कल्भर्ट, नाला एवं स्ल्याप निर्माणको क्रममा खिचोला गर्दै अनुपयुक्त स्थानमा निर्माण गर्न दबाब दिने स्थानीय बासिन्दा र त्यसलाई स्वीकृत गर्ने प्राविधिकसमेत दोषी हुन्। अझै पनि सुधारको प्रयास गरे आउँदा वर्षहरूमा आइपर्ने सङ्कटबाट बच्न र बचाउन सम्भव छ।