प्रस, बारा, असार १६

एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेज प्रालिले बाराको कलैया अस्पताललाई एक थान अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेको छ। वीरगंज शाखाका प्रबन्धक दीपक महर्जनले कलैया अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा गौरव महतोलाई बुधवार अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेका हुन्।

एक लाख मूल्यबराबरको १० लिटर क्षमताको अक्सिजन कन्सेन्ट्रेटर सहयोगस्वरूप प्रदान गरिएको नेपाल पत्रकार महासङ्घका केन्द्रीय परिषद् सदस्य विजय कुशवाहाले जानकारी गराए। उक्त प्रालि एक्सपर्ट फाउन्डेशनमार्फत विभिन्न सरकारी निकायको सहकार्यमा कोभिड–१९ प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको छ। कलैया अस्पतालमा पनि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहकार्यमा सहयोग गरिएको हो।

उक्त संस्थाले अध्ययन तथा वैदेशिक रोजगारको क्रममा अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूलाई विभिन्न राहत प्याकेजहरू वितरण गरेको संस्थाका वीरगंज शाखा प्रबन्धक महर्जनले बताए। सो अवसरमा कलैया अस्पतालका निमित्त मेसु महतोले प्राप्त स्वास्थ्य उपकरणले अस्पतालमा बिरामीको उपचार गर्न ठूलो टेवा पुग्ने भन्दै संस्थालाई धन्यवाद ज्ञापन गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here