प्रस, सर्लाही, १६ असार
पछिल्लो निषेधाज्ञा अवधिमा जिल्लाकोे लालबन्दीबाट साढे १९ करोड रुपैयाँभन्दा बढीको तरकारी निकासी भएको छ। वैशाख र जेठमा मात्र १९ करोड ६८ लाख ८८ हजार रुपैयाँको तरकारी निकासी भएको हो।
कृषि बजार व्यवस्थापन समिति लालबन्दीको तथ्याङ्क अनुसार वैशाख महीनामा १० करोड ५२ लाख ७२ हजार रुपैयाँको तरकारी निकासी भएको छ भने जेठमा ९ करोड १६ लाख १६ हजार रुपैयाँको तरकारी निकासी भएको छ। गत वर्षको निषेधाज्ञामा तरकारी बाहिर पठाउँदा ठाउँठाउँमा अवरोध भएको थियो। तर यस वर्ष कृषि उत्पादन तथा तरकारीको लागि कहींकतै अवरोध नभएकाले निकासी राम्रो भएको बजारका व्यवस्थापक शम्भु घिमिरेले बताएका छन्।
सो क्षेत्रका तरकारी कृषकहरूले पनि यस वर्ष तरकारीको राम्रो व्यापार भइरहेको बताएका छन्। उनीहरूका अनुसार निषेधाज्ञाको समयमा पनि तरकारी नबिक्ला भन्ने चिन्ता लिनुपरेको छैन। लालबन्दी र सो आसपासका क्षेत्रमा उत्पादन भएका तरकारी काठमाडौं, वीरगंज, नारायणघाट, जनकपुर, सिन्धुलीलगायत मुलुकका प्रमुख शहरहरूमा निर्यात हुँदै आएका छन्।