प्रस, पोखरिया, १६ असार
पर्सा जिल्लाका विद्यालयहरू खुल्ने विषय अहिले पनि अन्योलमा छ। वीरगंज महानगरपालिकाले असार १ गतेदेखि विद्यालय खोल्ने र ७ गतेदेखि अध्यापन शुरू गर्ने तयारी गरे पनि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले निर्णय नगर्दा अन्योलमा परेको छ।
केन्द्रले मन्त्रिपरिषद्को निर्णयबाट विद्यालय बन्द भएको र सोही निर्णयबाट खुल्ने बताएपछि नगरप्रमुख विजयकुमार सरावगीले विद्यालय खोल्ने तयारी गरे पनि सफल हुन सकेको छैन। महानगरले प्रावि माथिका विद्यार्थीहरूलाई अध्यापन गराउने तयारी गरेको थियो। महानगरमा विद्यालय सञ्चालन हुन नसकेका कारण अहिले पर्सा जिल्लाका अन्य पालिकाले पनि विद्यालय सञ्चालनमा ल्याउन सकेका छैनन्। वीरगंज महानगरमा पाँच विद्यार्थी सङ्गठनले पनि विद्यालय सञ्चालनमा ल्याउनुपर्ने अघोषित माग गरेका छन्।
उनीहरूले मासिक शुल्क वृद्धि नगर्न र भर्ना शुल्क नलिन तथा विद्यालयको अनुगमनमा पाँच विद्यार्थी सङ्गठनको सहभागिता हुनुपर्ने विषय अगाडि सारेकाले उनीहरूको नियत पनि विद्यालय खोल्नुपर्ने देखिएको छ। पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले विद्यालय सञ्चालनसम्बन्धी कुनै तयारी नभएको बताए। उनले मन्त्रिपरिषद्को निर्णयबाट विद्यालय बन्द गरिएको हुँदा सञ्चालनमा ल्याउन नसकिएको बताए।
कालिकामाई गापाका निमित्त गापा प्रमुख राजेश चौरसियाले पनि विद्यालय सञ्चालनको कुनै चाजोपाजो नगरिएको बताए।
शिक्षा पत्रकार अनन्तकुमारलाल दासले विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या भएको बताए। उनले सिकेका कुरा पनि बिर्सिने अवस्था सिर्जना भइसकेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्नुपर्ने बताए। दोस्रो भेरियन्टको कोरोना कहिले आउने भन्ने यकीन नभएको अवस्थामा विद्यालयलाई बन्द राख्नु उचित नहुने उनको भनाइ थियो।
सामुदायिक विद्यालयहरूमा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्न समस्या भएपनि निजी विद्यालयहरूले धान्न सक्ने भएकाले विद्यालय सञ्चालनमा सम्बन्धित पालिकाले पहल गर्नुपर्ने उनको भनाइ छ। सामुदायिक विद्यालयमा विद्यालय विसङ्क्रमित गर्ने, हात धुनको लागि साबुन–पानीको व्यवस्थापन गर्न छुट्टै बजेट नभएकोले स्थानीय पालिकाले सोसम्बन्धी व्यवस्थापन गरेर विद्यालय सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
यसैगरी, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढी भएको र केही निजी विद्यालयमा पनि सोही अवस्था भएकोले विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयले दुई चरणमा विद्यालय सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। वीरगंज महानगरपालिकाले विद्यालय सञ्चालनको लागि सूचना जारी गरेपछि नेपाल शिक्षक सङ्घले शिक्षकहरूलाई कोभिडविरुद्ध खोप लगाएर मात्र विद्यालय सञ्चालन गर्नुपर्ने तर्क राखेको छ। शिक्षकहरू अग्रपङ्क्तिमा रहेर काम गर्ने भएकाले उनीहरूबाट विद्यार्थीहरूमा सङ्क्रमण फैलिन नदिनका लागि खोप लगाउनुपर्ने शिक्षा पत्रकार दास बताउँछन्।
वीरगंज महानगर र पर्सा जिल्लाका केही पालिकामा इन्टरनेट सेवा भएपनि अधिकांश ठाउँका विद्यार्थी इन्टरनेट सेवाबाट पनि वञ्चित भएकाले अनलाइन शिक्षा पर्सामा प्रभावकारी देखिएको छैन। निजी विद्यालयका विद्यार्थीहरूले अनलाइनमा अध्ययन गरे पनि सबैले यो सेवा उपभोग गर्न सकेका छैनन्। महानगरमा यो अवस्था छ भने ग्रामीण क्षेत्रमा र त्यसमा पनि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू अनलाइन शिक्षाबाट पूर्णरूपमा वञ्चित छन्। विद्यालय बन्द भएपछि ग्रामीण क्ष्Fेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू अहिले धान रोपाइँ, तरकारी बेच्ने, घरमा भाइबहिनीलाई हेर्ने, पशु चराउनेजस्ता कार्यमा संलग्न छन्। उनीहरूले पढाइ बिर्सिसकेको अवस्था छ।
प्रस, सेढवा
नेपाल शिक्षक महासङ्घ, ठोरीका अध्यक्ष अमृत श्रेष्ठले असार १ गतेदेखि विद्यालयको प्रशासनिक कामकाजका लागि विद्यालय सञ्चालनमा आइसकेको बताए। उनले विद्यालयमा शिक्षक, कर्मचारीहरू उपस्थित भई परीक्षा प्रकाशन, विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण तथा छात्रवृत्ति वितरणका लागि आवश्यक कामकाज भइरहेको बताए। सरकारले विद्यालयमा विद्यार्थी उपस्थित गराइ पठनपाठनका लागि निर्देशन नदिएसम्म विद्यालय नखोल्ने उनको भनाइ छ।
पटेर्वासुगौली गाउँपालिका शिक्षा शाखाका प्रमुख शम्भु साहले पाठ्यपुस्तक वितरणका लागि सम्पूर्ण विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिएको बताए। उनले असार २५ गते विद्यालय सञ्चालनका लागि तैयारी भइरहेको जानकारी गराएका छन्। जीराभवानी गापाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले प्रशासनिक कामकाजका लागि विद्यालय सञ्चालनमा रहेको र सङ्घीय सरकारको विज्ञान, शिक्षा तथा खेलकूद मन्त्रालयको निर्देशनको पर्खाइमा रहेको बताए। मन्त्रालयले विद्यालय खोल्न निर्देशन नदिएको खण्डमा मात्र साउनको दोस्रो सातामा नेपाल शिक्षक महासङ्घ, शिक्षक अभिभावक सङ्घ तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी विद्यालय खोलिने उनले बताए।