नारायण ढुङ्गाना, काठमाडौं, १५ असार/रासस
मङ्गलवार असार १५ । विसं २०६१ को सरकारी निर्णय अनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ । आज मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाइन्छ । दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँ अनुसार परम्परागतरूपमा सांस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखि नै छ । धान मानिसको जन्मअघिदेखि मृत्युपर्यन्तसम्म नभई नहुने बाली हो । जीवन धान्ने आधार पनि धान नै हो । त्यसैले नेपाल मात्रै होइन दक्षिण एशियाली मुलुकमैं धानको महत्व बढी छ ।
कोभिड–१९ सङ्क्रमणका कारण पछिल्लो दुई वर्षदेखि भने यो दिन निकै खल्लोरूपमा बितिरहेको छ । निजी क्षेत्रबाट र किसानले आफ्नै तरीकाले स्वस्फूर्तरूपमा हिलो खेलेर छिटपुटरूपमा मनाए पनि सरकारीस्तरबाट हुने कार्यक्रम भने औपचारिकतामा मात्रै सीमित छ । गत वर्ष पनि साङ्केतिकरूपमा मनाइएको यो दिवस यसपटक पनि त्यसैगरी मनाउनुपरेको छ । कृषि विभागका निमित्त महानिर्देशक जानुका पण्डित भन्छिन्, “धानको महत्व जोगाउन, किसानलाई प्रेरित गर्न, प्रचारप्रसार तथा परम्परालाई निरन्तरता दिनका लागि मात्रै आवश्यक स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी दिवस मनाइएको हो ।”
सरकारले धानबाली सुरक्षित गर्दै क्षेत्र विस्तार र उत्पादन वृद्धिका कार्यक्रम अघि सारेको छ । जमीनको सुरक्षा, शुद्ध बीउ, सिंचाइ कार्यक्रम, जातको विकास गरी धानमा आत्मनिर्भर बनाउने सरकारी लक्ष्य छ । नेपालमा खेती हुने कुल जमीनको ४७ प्रतिशतमा धानखेती हुन्छ । कुल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिकटन धान फल्ने कृषि विभागले जनाएको छ । प्राप्त विवरण अनुसार अघिल्लो वर्षको तुलनामा धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत वृद्धि भएको छ ।
विभिन्न कारणले मानिसमा खाद्य संस्कृतिको परिवर्तनले आन्तरिक उत्पादनले माग नधान्दा चामल आयातको क्रम भने बढ्दो छ । यसपटकको धान दिवसको नारा ‘धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने रहेको छ । दिवसमा सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने) कार्यक्रममा रोक लगाइएको छ । मापदण्ड नै तयार पारी दिवस मनाउन थालिएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि सचिव डा योगेन्द्रकुमार कार्कीले किसानको घरदैलोमा अनुसन्धान पु¥याउन नसके धानको उत्पादन बढाउन चुनौती हुने जिकिर गरे । “प्राङ्गारिक र रासायनिक मलको समन्वय जरुरी छ,” कार्कीले भने, “विगतमा मलको हाहाकार भएकाले पहिलोपटक उत्तरी नाकाबाट मल ल्याउन सफल भइएको छ, यसपालि मलमा समस्या भएन, अब सरकारले नेपालमैं मल उत्पादन गर्ने योजना अघि बढाएकाले पनि समस्या हट्ने आशा गर्न सकिन्छ ।”
मुलुकमा अहिले एक करोड १६ लाख मेट्रिकटन खाद्यान्न उत्पादन हुन्छ । नेपालमा ९६ लाख मेट्रिकटन खाद्यान्न भयो भने पुग्छ तर वार्षिक ४० अर्ब बढीको चामल आयात भइरहेको छ ।
मानिसको खाने संस्कृति परिवर्तन भएकाले यस्तो भएको कृषि विज्ञको भनाइ छ । राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओली, जन्मनुअघिदेखि मृत्युपर्यन्तसम्म धानको प्रयोग हुने मुलुकमा अनुसन्धान गरी नयाँ हाइब्रिड धानको विकास जरुरी रहेको औंल्याउँछन् । उनले जलवायु परिवर्तन भइरहेकाले त्यसको प्रभावको आधारमा जातको विकास गरी अर्गानिक उत्पादनलाई समेत प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय किसान आयोगका अध्यक्ष डा प्रेमप्रसाद दङ्गाल खाद्य संस्कृति परिवर्तन र मानिसमा भात खाने प्रवृत्तिका कारण मुलुकको उत्पादनभन्दा मसिनो र बासमतीको रोजाइ बढेको हो भन्छन् । उनले प्रविधिलाई किसानको घरघरमा पु-याउन नसके धान उत्पादन वृद्धि हुन नसक्ने जिकिर गरे ।
नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा दीपक भण्डारी मसिनो धानको आयात वृद्धि भइरहेको अवस्थामा त्यसलाई रोक्नका लागि हाइब्रिड जातको विकास जरुरी रहेको र परिषद् त्यसतर्फ अघि बढिरहेको छ भन्छन् । उनले हालै मात्र हर्दिनाथ हाइब्रिड निकालेकाले त्यो धान लगाउन किसानलाई सुझावसमेत दिएका छन् ।