सम्पादकीय…

असार १५ को परम्परागत महत्व छ । यो दिन किसानले खेतमा धानको बिरूवा रोप्दछ । यसपालि समयमा पानी परेकोले प्रायः खेत तयार छ । यही असार १५ गतेलाई नेपाल सरकारले पछि ‘धान दिवस’ घोषणा ग-यो । धान नेपाल मात्र होइन, दक्षिण एशियाली मुलुकहरूको प्रमुख अन्नबाली हो । संसारको आधाभन्दा बढी जनसङ्ख्याले धानबाट तयार भएका विभिन्न परिकारबाट पोषण प्राप्त गर्दछ ।

प्रकृतिले भूगोलका विभिन्न ठाउँलाई त्यहाँको जलवायु अनुसार विभिन्न खाद्यान्न बाली प्रदान गरेको छ । खाद्यान्नमा विश्वभरि धान, गहुँ र मकैको कुनै दाँजो छैन । विश्व भूगोलमा पायक पर्नेगरी यी तीन बालीको प्रमुखताका साथ उत्पादन हुन्छ । त्यसमा धानको छुट्टै विशेषता छ ।

धानका विभिन्न प्रजाति हुन्छन् । तीमध्ये केही पानीमैं फल्छन्, केही सुक्खा मौसममा पनि फल्छन् र धेरैजसो हाम्रोजस्तो जलवायु भएको ठाउँमा फल्छन् । यस्तो विशेषता गहुँ र मकैमा पाइन्न । गहुँ र मकै धेरै पानी भयो भने सप्रिंदैन । ती निर्धारित मौसमबाहेक फल्दैनन् पनि । धान बा-है महीना फल्छ । वर्षको तीन बाली लिन सकिन्छ । यसको पराल, भुस आदि अन्य काममा प्रयोग गर्न सकिन्छ ।

हुनत धानले यो पहिचान पाउनुअघि निकै अपहेलना पनि बेहोर्नुप-यो । विश्वविजेता युरोपेलीहरूले लामो समयसम्म धानको अपहेलना गरे । नेपालमैं बढी भात खाने मानिसलाई ‘भाते’ को संज्ञा दिइन्छ । भात बढी खाए भने निद्रा लाग्छ, आलस्य हुन्छ, किनकि धानमा बढी मात्रामा कार्बोहाइड्रेड पाइन्छ । तर यसका विशेषता एउटा यो दुर्गुणको तुलनामा धेरै छ । यो गरीब र मेहनत गर्ने वर्गको उच्च प्राथमिकतामा पर्दछ ।

हाम्रोजस्तो गर्मी हुने मुलुकमा भात खाएर घाममा काम गर्दा तिर्खा लाग्दैन । पेटलाई ठन्डा राख्छ । धान पहेंलो, रातो, कालो, सेतो विभिन्न रङ्ग, स्वाद, सुगन्धका हुन्छन् । आज अज्ञानताले मानिसले रासायनिक मल र विषादी प्रयोग गर्न थालेपछि धानबालीको धेरै परोक्ष फाइदा लोप हुन गएको छ । हिजो–अस्ति धान रोपेको खेतमा पानी लाग्न थालेपछि पर्याप्त मात्रामा जङ्गली माछाहरू पाइन्थ्यो ।

गङ्गटो, भ्यागुतोजस्ता पर्यावरणीय सन्तुलन जोगाउने प्राणीहरू हुन्थे । जसले बालीमा लाग्ने शत्रुजीवको अन्डा खाएर धानबालीलाई रोगमुक्त राख्न सहयोग पु¥याउँथे । अर्थात् धानले सहउत्पादन पनि दिन्थ्यो । धानखेती गर्न धेरै मानिस लाग्ने हुँदा यसले मानिसलाई रोजगार पनि दिन्छ ।

धानका यिनै विशेषताहरूले गर्दा नेपालमा परापूर्वकालदेखि असार १५ को विशेष महत्व छ । पहिले यस दिन किसान परिवार खेतमा पुगेर रमाइलो गर्ने, रोपाइँ र बीउ उखेल्ने मजदूरहरूसँग हिलो छ्यापाछ्याप गर्ने, दही–चिउरा खाने गर्दा खेत नै मेलास्थल बन्न पुग्दथ्यो । अब ती दिनको स्मृतिशेष मात्र छ । यता सरकारले असार १५ गते धान दिवस मनाउन थालेपछि औपचारिकताका लागि हाकिमहुक्काम खेतमा पुग्ने, रोपाइँ गर्ने, दही–चिउरा खाने त गर्दछन् तर त्यो आयोजन प्राविधिक बढी र आत्मीय थोरै हुन्छ ।

आज युग पनि परिवर्तन भइसकेको छ । हिजोजस्तो परिवार कृषिमा निर्भर छैन । सबै परिवारका मानिस छुट्टाछुट्टै रोजगार, नोकरीमा लागेका छन् । अब त गाउँमा खेतमा काम गर्ने युवा नै विदेशिन थालेका छन् । वास्तविक किसान अब गाउँ बस्दैन । खेतजति हुन्डा र बटैया लगाएपछि असार १५ को महात्म्य नै ओरालो लागेको छ । धान रोप्ने खेत प्लटिङ गरेर सिध्याइँदै छ । धानको संस्कृतिको यसरी क्षय हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here