नयाँ दिल्ली, १५ असार/सिन्ह्वा
गत २४ घण्टामा भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३ करोड ३ लाख १६ हजार ८९७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलवार जनाएको छ ।
भारतमा गत २४ घण्टामा भएको कोरोना सङ्क्रमितको यो सङ्ख्या विगत १०२ दिनयताकै सबैभन्दा कम हो । चालीस हजारभन्दा कम व्यक्ति कोरोना सङ्क्रमण भएको १०२ दिनपछि यो पहिलोपटक हो ।
भारतमा हिजो कोरोना सङ्क्रमणबाट ९०७ व्यक्तिको मृत्यु भएको छ । करीब ७० दिनपछि भारतमा गत दुई दिनयतादेखि एक हजारभन्दा कम व्यक्तिको कोरोनाबाट ज्यान गएको छ । गत अप्रिल १४ मा भारतमा कोरोना सङ्क्रमणबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
कोरोना प्रकोपबाट ज्यान गुमाउनेको सङ्ख्या तीन लाख ९७ हजार ६३७ पुगेको छ । हाल भारतमा पाँच लाख ५२ हजार ६५९ जना सक्रिय सङ्क्रमित छन् ।
भारतमा कोरोना शुरू भएदेखि हालसम्म दुई करोड ९३ लाख ६६ हजार ६०१ व्यक्ति कोरोनामुक्त भएका छन् । यहाँ कोरोना भाइरस मुक्तिदर ९६.८७ प्रतिशत रहेको छ । जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू भएको थियो । सो समयदेखि हालसम्म ३२ करोड ९० लाख २९ हजार ५१० मात्रा खोप लगाइएको छ । रासस