• सम्पादकीय

अहिले पनि सरकारले निषेधाज्ञा खारेज गरेको छैन, तर जनजीवन सामान्य हुने गतिविधिमा रोक पनि छैन । अब सामान्य हिंडडुल र आवश्यक काममा निस्केको नागरिकमाथि सुरक्षाकर्मीले खासै रोकटोक गर्दैन, निगरानी पनि देखिएको छैन । सरकारी कार्यालयहरू खुलिसकेका छन्, नागरिकले सरकारप्रदत्त सेवा पाइरहेको छ ।

यसपछाडि एउटै कारण छ–कोभिड १९ को सङ्क्रमण निस्तेज हुँदैछ । यो निस्तेज हुनुमा अर्को कुनै कारणले भूमिका निर्वाह गरेको छैन, निषेधाज्ञाबाहेक । यसलाई निस्तेज पार्ने दोस्रो उपयुक्त कारण खोप हो, जुन देशमा सीमित मात्रामा लगाइएको छ । त्यत्तिले सङ्क्रमण रोकथाम भएको मान्न सकिंदैन । सङ्क्रमित आफ्नै प्रतिरोधात्मक क्षमता कारण र उपचारबाट निको भएका हुन्।

अर्थात् जसलाई सङ्क्रमण भयो उसको शरीरले आफैं त्यसविरुद्ध विजय प्राप्त ग-यो । यो संवेदनशील कुरा हो । हाम्रो नागरिकमा चेत छैन । निषेधाज्ञा खुकुलो हुनेबित्तिकै हुल बाँधेर बाहिर निस्कन्छ । यस उपक्रमले कोरोनाको फैलावलाई सघाउ पु-याउँछ । तर निषेधाज्ञाको पनि विकल्प छैन । यस दुरभिसन्धिमा नागरिकलाई पर्याप्त प्रशिक्ष्Fण र अनुशासित क्रियाकलाप गर्न परामर्श दिनु मात्र उपाय हो ।

नेपाललाई सदादेखि अर्काको भरमा बाँच्ने मुलुक बनाउन जुन कालमा पनि शासकहरूले नै काम गरेका हुन् । ल्याकत भए पनि केही गर्न नसक्ने वा नचाहने हिजोका प्रशासक र आजका जनप्रतिनिधिहरूले गर्दा आज एक चरणको खोप लिएका व्यक्ति पनि दोस्रो खोप नपाएर छटपटिइरहेका छन् । पाउँदै नपाउनेको सङ्ख्या थुप्रै छ । औसतको हिसाबले भन्ने हो भने देशको कुल जनसङ्ख्याको १० प्रतिशत माथिले मात्र खोप पाएको छ । यो अवस्थामा निषेधाज्ञा खुकुलो पार्नु जोखिम मोल लिनु हो । तर उपाय पनि छैन । किनकि कोरोनाभन्दा भयावह समस्याहरू तेर्सिने अवस्था छ ।

देश बाढी–पहिरो, कोरोना, बेरोजगार र क्षमता भएर पनि श्रम गर्न नसक्ने अवस्थामा पुगेको छ। जनजीवन खुला हुनु निषेधाज्ञाभन्दा जरूरी छ । तर कसरी ? यस कुराको भेउ न सरकारले पायो न जनताले नै बुझ्ने प्रयास ग-यो । यसको समायोजन कोरोनाले नै गर्लाजस्तो छ । अति असावधानीले कोरोना फैलन्छ, मानिस मर्छन् । यो क्रम बारम्बार चलिरह्यो भने नागरिकको बुद्धिको घैंटोमा घाम लाग्छ । क्षति हुनुपूर्व यस्तो गर्नुपर्छ भन्ने सिकाउने काम सरकारहरूले गरेका छैनन्, नागरिकले पनि सिक्न चाहेको छैन ।

नागरिक स्वयं सजग र सतर्क हुनुपर्छ । नागरिकले आफ्नो कार्य–व्यवहारले कोरोनालाई पराजित गर्नुपर्छ । कोरोनाको ताप र राप रहुन्जेल सामान्य स्वास्थ्य मापदण्ड पालना गर्ने हो भने कोरोनाको कुनै जोर चल्दैन । मामूली रकम खर्च गरेर कोरोनाको सामना गर्न सकिन्छ । लापरवाहीले सङ्क्रमण भएमा लाखौं रुपियाँ खर्च गरेर कसैगरी जीवन पाएपनि कडा औषधिहरूको सेवनले जीवनभरिका लागि असाध्य अन्य रोग लाग्न सक्छ ।

यो अवस्था निकै दुःखदायी हुन्छ । कोरोनाको उपचारपछि धेरै मानिसमा डाइबिटिज, कालो फङ्गस भयो, मिर्गौंला आदिमा नकारात्मक असर प-यो । सरकारले गर्ने भनेको केही पनि होइन । नाफामुखी अस्पतालहरूले हाडसम्म चुसेर छाड्छन् । अस्पताल चलाउनेहरू, सरकार चलाउनेहरूका नजीकका वा सहयोग पु-याउने जमात हो । त्यसैले सरकारको आस गरे पनि भर पर्ने अवस्था नभएको बेला आफैं होशियार हुनुको विकल्प छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here