नयाँ दिल्ली, १३ असार/एएनआई

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या ५० हजारमा झरेको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ४० जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या तीन करोड दुर्ई लाख ३३ हजार १८३ पुगेको छ । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो ४५ दिनदेखि दैनिक सङ्क्रमितहरूको सङ्ख्या घट्दै गइरहेको छ ।

भारतमा पछिल्लो एक दिनमा ५७ हजार ९४४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीहरूले भारतमा अहिले पाँच लाख ८६ हजार ४०३ जना अहिले पनि कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामैं रहेको जानकारी दिएका छन् । यो सङ्ख्या पनि घट्दै गएको देखिएको छ ।

भारतमा कुल सङ्क्रमितमध्ये ९६.७५ प्रतिशत मानिस कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको तथ्याङ्क छ । कुल सङ्क्रमितमध्ये अहिलेसम्म कुल दुर्ई करोड ९२ लाख ५१ हजार २९ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये तीन लाख ९५ हजार ७५१ जनाको मृृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुल सङ्क्रमितमध्ये १.९४ प्रतिशत मात्रै अहिले सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतमा अहिलेसम्म ३२ करोड १७ लाख मानिसलाई कोरोना भाइरसको खोप लगाइएको छ । तीमध्ये ६४ लाख २५ हजार खोप शनिवार एक दिनमा मात्रै लगाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here