प्रस, सप्तरी, ११ असार/
सप्तरीको खड्क नगरपालिकामा उपभोक्ता समितिका सदस्यले सब इन्जिनीयरलाई कुटपिट गरेका छन्। नगरपालिकाको वडा नं ८ मा सडकमा माटो र ग्रेभल भर्ने काम गर्न गठित उपभोक्ता समितिका सदस्य अबुल हुसैनले सबइन्जिनीयर विश्वप्रताप झामाथि कुटपिट गरेका हुन्।
नगरपालिकाको अनुदानप्राप्त रु ३ लाख बजेटको माटो र ग्रेभल भर्ने काम लागत अनुसार नगरी बलजफ्ती मूल्याङ्कन गर्नभन्दा आफूले नमानेपछि उपभोक्ता समितिका सदस्य हुसैनले आफूलाई कुटपिट गरेको सबइन्जिनीयर झाको भनाइ छ।
आफ्नो कोठामा बसिरहेको बेला हुसैन अन्यत्रबाट आएर तुरुन्त कामको मूल्याङ्कन गर्न भनेको र आफूले लागत अनुसार काम नभएको हुँदा मूल्याङ्कन गर्दिनँ भनेपछि हुसैनले हातपात गरेको झाले बताए। कुटपिट गर्दै मोबाइलसमेत लैजान थालेपछि मोबाइल खोसेर लिएको उनले बताए।
यस सम्बन्धमा उपभोक्ता समितिका सदस्य हुसैनले झाको मोबाइल नियन्त्रणमा लिएको स्वीकारे। नियन्त्रणमा लिएको मोबाइल फिर्ता गरिदिएको बताउने हुसैनले हातपात भने नगरेको जिकिर गरेका छन्।
नगरपालिकाका सबइन्जिनीयर झामाथि कुटपिट गरेको विरोधमा सो पालिकाका कर्मचारीहरू आन्दोलित भएका छन्। पीडक हुसैनमाथि कारबाई माग गर्दै कर्मचारीहरूले शुक्रवार नगरपालिकाको कामकाज अवरुद्ध गरेका थिए।