- राजेश मिश्र
“जिउत के बेटा जामुन के गाछी पर से गिरल बा, बाँह टुटल बा, मुह फुलल बा ।” जिउतको छोरा जामुनको रूखबाट खसेको छ । दायाँ हात भाँचेको छ । अनुहार फुलेको छ । यो विषय एकले अर्को गाउँलेलाई बताइरहेका थिए । असार मास जामुन, रूनी (अम्बा) तथा बडहर फुल्ने र फल्ने महीना हो । देहातमा केटाकेटीहरूको झुन्ड दिनभरि यी फल वृक्षहरूको वरिपरि रहन्छ । मौसमी फलको आनन्दसँगै बिर्नी (बारुलो) र हड्डा आदि परजीवीको टोकाइ तथा रूखबाट लड्ने, चोट लाग्ने र हातखुट्टा भाँचिनेलगायतका नमीठा घटनाहरू पनि घटिरहन्छन् ।
अहिले वीरगंजमा एक पाउको सय रुपियाँमा बिक्री भइरहे जस्तै उहिले जामुन महँगो थिएन । उहिले जामुन प्रशस्त पाइन्थ्यो । त्यसैले देहातका केटाकेटीहरूको जिब्रो जतिखेर कालो नै रहन्थ्यो । बच्चाहरूको दिनचर्या प्रायः आँप, अम्बा, जामुन र बडहरको खोजीमा व्यतीत हुन्थ्यो । टिप्दै, खाँदै र खेल्दै बालबालिकाहरू खूब रमाउँथे ।
चकचके प्रकारका केटाहरू जोशपूर्ण लवजमा भन्थे, “हम गाछ पर चढ जाइँ ? चढ के देखा दीं ?” यो सुनेपछि अन्य बालबालिकाहरू हाँस्दै भन्थे, “तु ना नु चढे सक बे, देखतारी गाछी केतना बडका बा र ।” जिस्किने शब्द सुनेर जोशिला बच्चाहरू झन् उफ्रिंदै भन्थे, “देखसन हम चढ् के देखावतानी ।” बच्चाहरूमध्येका केहीले पुनः व्यङ्ग्य प्रहार गर्दै भन्थे, “जा ना घरे सुते, कादून गाछी पर चढ् जइहन, हुँह ।”
बाललीला
जामुनको रूखनिर थुप्रै केटाकेटी थिए । एक केटाले रूखमा चढ्नुअघि चप्पल र शर्ट फुकाल्यो । पिसाब फेरेर आइरहेको छु भन्दै केही पर रहेको परालको झुप्रोतिर दगु-यो । अन्य बच्चाहरूले, “हऊ देखसन भागता, बुझाता डेरा गइल, गाछी पर ना चढी,” भन्दै चिढ्याउन थाले । उसले अन्य बच्चाहरूले नदेख्ने गरी शर्ट र चप्पल परालभित्र लुकाइदियो । त्यसपछि एक हातले कटु समातेर उफ्रिंदै फकिर्यो ।
अन्य बच्चाहरूले भनिरहेका थिए, “जामा (शर्ट) आ चपल पुवारा में लुकाके आइल बा ।” उसले थर्काउँदै भन्न थाल्यो, “किनहुँ जे चोरा लेल लोगन त बुझ लिह ।” यति भन्दै रूखमा चढ्ने सुरसार गर्न थाल्यो । उर्फेर रूखको हाँगा समात्ने प्रयत्नमा ऊ असफल भइरहेको थियो । यो दृश्य देखेर बच्चाहरूले हाँसो र ठट्टा गर्न थाले । अन्त्यमा उसले भन्यो, “ए गोडा कौनो निहुर सन ना, हम पिठ पर लात ध के डाढी पकडलेम आ चढ जाएम ।” कसैले निहुरने र उसको पिठ्यूँमा खुट्टा टेकेर रूखमा चढ्ने उसको कुरामा कोही पनि तयार भइरहेका थिएनन् ।
उसले रिसमा चुर भएर भन्न थाल्यो, “गाछ हिलाएम आ जामुन गिरी त सब जाने खइब लोगन, निहुरब लोगन ना ?” सधैं चराचुरुङ्गीहरूले टोकेको र भुइँमा झरेको जामुन खाने बच्चाहरूलाई सद्दे जामुन खाने मनोकाङ्क्षा व्याप्त थियो । अन्ततः एक बच्चा तयार भयो । निहु-यो । चकचकेले उसको पिठ्यूँमा टेकेर रूखको हाँगा समात्यो । रूखमा चढ्यो । शुरूमा उसले हात पुगेसम्म जामुन टिप्ने र खाने काम गरिरह्यो ।
भुइँमा बच्चाहरूलाई हेरेर चिढ्ययाउँदै उसले जामुनको मज्जा लिइरहेको थियो । यता भुइँमा रहेका बच्चाहरूले भने उसले जामुन खाइरहेको देखेर कोलाहल गरिरहेका थिए । क्रन्दन गरिरहेका थिए । बच्चाहरूको क्रन्दन सुनेर उसलाई झन् मजा आइरहेको थियो । त्यसपछि बच्चाहरूले तलबाट ढुङ्गामुढा गर्न थाले । अन्ततः उसले केही मात्र रातो अर्थात् काँचो जामुन तल खसाल्यो । त्यतिले भुइँमा रहेका बच्चाहरूलाई पुगिरहेको थिएन । क्रन्दन झन् तीव्र भइरहेको थियो । रूखमा चढेको बच्चा जामुन खाएर अघाइसकेको थियो ।
अब उसले हाँगा हल्लाउन थाल्यो । भुइँमा झरेको जामुन लुट्ने तथा जामा (शर्ट) वा गन्जीमा पुछ्ने र खाने क्रम चलिरहेको थियो । जामुन लुट्ने क्रममा एकअर्काको टाउको, हात र खुट्टा एकापसमा ठोक्किइरहेको थियो । जामुनको लुटाइसँगै एकापसमा भनाभन पनि नहुने कुरै थिएन । यद्यपि भुइँमा रहेका बच्चाहरूमध्ये कसैले यो हाँगा त कसैले त्यो हाँगा हल्लाऊ भन्दै कराइरहेका थिए । उसले भ्याएसम्म हाँगा हल्लाइरहेको थियो । जामुन खसिरहेको थियो । तर पाकेको, कालो र ठूला आकारका जामुन हाँगाको टुप्पोमा बढी थियो । त्यो जामुन टिप्ने उसको प्रयत्न सफल भइरहेको थिएन ।
तलबाट बच्चाहरूले विभिन्न तरीका बताइरहेका थिए । माथिको हाँगा हातले समातेर तलको हाँगामा बिस्तारै अगाडि बढ्न सुझाइरहेका थिए । उसले पनि प्रयास गरिरहेको थियो । अब उसले एक हातले माथिको हाँगा समातेर तलको हाँगामा बिस्तारै पाइला अघि बढाइरहेको थियो । जति अगाडि बढ्थ्यो, त्यति नै हाँगा लच्किरहेको थियो । तलबाट अलि ‘अगाडि बढ्’ को स्वर गुञ्जित भइरहेको थियो । उसले घरी पाइला अगाडि त घरी पछाडि गरिरहेको थियो ।
उसले हाँगालाई हल्लाउँदै बिस्तारै पाइला अघि बढाइरहेको थियो । हाँगाको हल्लाइले बिर्नीहरू अघिदेखि नै आक्रोशित थिए । उसले जामुनलाई टार्गेट गरिरहेको बेला बिर्नीहरूको टार्गेट बन्न पुग्यो । बिर्नीहरूले टोक्न थाले । उसले समातिरहेको हाँगाको ‘चुर्रर्र’ को आवाजसँगै अहिले हाँगा र बच्चा दुवै भुइँमा लडे । ऊ चिच्याउन थाल्यो । केहीबेरअघिको क्रन्दन, मनोरञ्जन, हाँसो र ठट्टा अहिले थिएन । माहोल एकदम शान्त थियो । बच्चाहरूले उसलाई उठाउने प्रयत्न गरिरहेका थिए । उसको हात भाँचिसकेको थियो । अनुहार फुलिसकेको थियो । पीडा असह्य भइरहेको थियो । ऊ रोइरहेको थियो । कराइरहेको थियो । गाउँलेहरूले उसलाई उसको घरमा ल्याइदिए ।
घरमा पुग्ने बित्तिकै आमाले अँगालो हालेर म्वाइ खान थालिन् । कपाल सुम्सुम्याउँदै सोधिन्, “का भइल ह हमर करेजा ?” बच्चाले भन्यो, “माई रे जामुन के गाछ पर बिरनी कटल खिय ।” जामुनको रूखबाट लडेर जिउतको छोराको हात भाँचेको कुरा गाउँभरि फैलिसकेको थियो । अहिले सबैको ध्यान बिर्नीको खील निकाल्ने र हातको उपचार कसरी र कहाँ गर्नेतर्फ केन्द्रित थियो ।
बालपनका विषयमा आधारित केही व्यक्तिसँग भएको संवाद–
परवेन्द्र प्रसाद साह, पर्सा – ‘कागके बच्चा भुचेङ्वा रे, एगो जामुन गिरा दे ।’ पटेर्वासुगौली गापा–५ मनिहर्वाका परवेन्द्रप्रसाद साहले यो भोजपुरी लोकोक्ति सुनाइरहँदा बालपन सम्झेर रोमाञ्चित मुद्रामा थिए । अशोक मिश्र र राजेश्वर मिश्रलगायतका गाउँका सहपाठीहरूसँग हावाहुरी चलेको बेला बगैंचामा गइन्थ्यो ।
जामुन टिप्नको लागि आफ्नो गाउँदेखि झन्डै तीन किमी टाढा देवउरिया र सुगौली कयौंपटक गएको उनको स्मरणमा ताजा छ । यता परिवारजन खोजिरहन्थे । उता हामी जामुन र आँपको खोजीमा हुन्थ्यौं । झमझम पानी परिरहेको बेला हामी जामुनको रूखमुनि बसिरहन्थ्यौं । पानी परेको बेला पोकेको कालो जामुन खूब खस्दो रहेछ । रूखमा चढ्ने साथीले आफू पाकेको कालो जामुन खान्थ्यो । भुइँमा रहेका हामीलाई रातो अर्थात् काँचो जामुन खसाउँथ्यो ।
कागले चुचोमा जामुन च्यापेको देखेर हामी लखेट्थ्यो । कागले जामुन छोड्देला र हामी खाउँला भन्ने बालपन थियो । ‘कोवा’ (पाकेको कटहर) खानको लागि साथी फजिल अहमदको गाउँ (हाल पोखरिया नपा–८) मननपुर जान्थ्यौं । रूखमा चढ्थ्यौं । टिप्थ्यौं । खान्थ्यौं । रूखबाट टिपेर खानुको त्यो आनन्दमय बालपनको सम्झना आज पुनः ताजा भयो । मनमा आनन्द महसूस भइरहेको छ ।
प्रदीप चौधरी, पर्सा – जीराभवानी गाउँपालिका–२ का प्रदीप चौधरीको अनुभवमा तीन दशकअघिको जस्तो जामुनलगायतका फलका रूखहरू अहिले पाउन मुश्किल छ । सेढवा गाउँदेखि उत्तर जङ्गलसम्म सडकको छेउमा जामुनका रूखहरू उनले प्रशस्त देखेका रहेछन् । साथीभाइहरूसँग टिपेका छन् । जामुनको अग्लो रूखको छहारीमा बटुवाहरूले आराम गर्नुका साथै ताजा जामुन पनि खान पाउँथे । हामी बालबालिकाहरूले असारको गर्मीयाममा दौडिने, उफ्रिने, पटक–पटक नुहाउने र बगैंचामा पुगेर खेल खेल्नुका साथै ताजा फल पनि खान पाउँथ्यौं । कति आनन्दमयी थियो, हाम्रो बालपन । मानौं दिनभरि हामी बालबालिकाहरू शारीरिक व्यायाम गरिरहेका हुन्थ्यौं । आमाबुबा यता खोजिरहन्थे, उता हामी साथीहरूसँग बगैंचामा हुन्थ्यौं । जामुन, अम्बा र आँप टिप्ने र खानुको त्यो क्षण वास्वतमा रोचक थियो । आज पुनः स्मरण गर्न पाइयो ।
दयानन्द साह, रौतहट – रौतहटको ईशनाथ नगरपालिका–५ महुलियाका दायानन्द साहको बालपन पनि रोचकपूर्ण छ । गाउँको पश्चिमतर्फ भारतीय सीमासँगै टाँसिएको ठूलो बगैंचा थियो । अहिले छैन । त्यो बगैंचामा जामुन, आँप, लिची र बडहरलगायतका थुप्रै प्रजातिका रूखबिरुवा थिए । जेठ र असारको महीनामा हामी बालबालिकाहरूका लागि अत्यन्तै हर्षपूर्ण समय हुन्थ्यो । जामुन र बडहरको लोभमा भात खान पनि बिर्सन्थ्यौं ।
शारीरिक थकान त आभास नै हुँदैनथ्यो । मेरा सहपाठीहरू मुकेश ठाकुर, दिनदयाल साह, रामनाथ पटेल, सुरेन्द्र राउत र अनवर हुसेन थिए । विद्यालयबाट छुट्टी भएपछि सीधैं घर आउँथ्यौं । खाना खाएपछि जामुन टिप्न सीमानजीकको बगैंचामा पुग्थ्यौं । अरू गाउँका हामी जस्तै थुप्रै केटाकेटी पनि आउँथे । हावाहुरीले जामुन, आँप, अम्बा खस्यो भने लुछाचुडी हुन्थ्यो । हामीभन्दा ठूला दाइहरू रूखमा चढ्थे । पहिला आफू पेटभरि खान्थे । भुइँबाट हामीले कराउन थालेपछि मात्र हाँगा हल्लाउँथे । बिर्नीको टोकाइले कतिपयको अनुहार हनुमान जस्तो हुन्थ्यो । ती बालपनको गराइ र भोगाइ याद आउँदा मनमनै हाँसो उठ्छ भने मन पनि गदगद हुन्छ ।