प्रस, परवानीपुर, १० असार/

वीरगंजस्थित रेलमार्गबाट मालसामान आयात–निर्यात गर्ने भन्सारको रूपमा चिनिने श्रीसिया सुक्खा बन्दरगाहले पछिल्लो ११ महीनामा लक्षित राजस्व सङ्कलन गर्न सकेको छैन।

कोरोना महामारीको कारण जेठ मसान्तभरि निषेधाज्ञा रहेको कारण राजस्व सङ्कलनमा असर पुगेको भन्सार कार्यालयका सूचना अधिकारी चुडामणिशर्मा कट्टेलले बताए। उनका अनुसार चालू आवको जेठ मसान्तसम्म ४० अर्ब १५ करोड २८ लाख ७६ हजार राजस्व लक्ष्य रहेकोमा ९५.४४ प्रतिशत अर्थात् ३८ अर्ब ३२ करोड १८ लाख ७४ हजार राजस्व असुली भएको छ। लक्ष्य भन्दा करीब २ अर्ब राजस्व असुली कम भएको हो।

चालू आवको १२ महीनाको लागि भन्सार कार्यालयले ४४ अर्ब १२ करोड २२ लाख १८ हजार राजस्व लक्ष्य पाएको छ। गत साउनदेखि जेठसम्म भन्सार महसूल १६ अर्ब ५५ करोड २४ हजार, मुअकर १८ अर्ब ५३ करोड ३५ लाख ९८ हजार, अन्तःशुल्कतर्फ २ अर्ब ४४ करोड ५३ लाख ६७ हजार, कृषि सुधार शुल्कतर्फ ५६ करोड ७६ लाख, अन्य राजस्वतर्फ २ करोड ८७ लाख र सडक सम्भार दस्तुरतर्फ १९ करोड २५ लाख ३० हजार गरी कुल ३८ अर्ब ३२ करोड १८ लाख ७४ हजार राजस्व सङ्कलन भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here