प्रस, निजगढ, ९ असार/
बारा, पिलुवा भएर सदरमुकाम कलैया जोड्ने करीब १८ किलोमिटर हुलाकी सडक बनेको केही समयमैं भत्किंदैछ । सडक निर्माण भएको दुर्ई वर्ष बित्न नपाउँदै सडकखण्ड ठाउँ–ठाउँमा भत्किएको छ । सडक रेखदेख गर्ने निकाय हुलाकी सडक निर्माण आयोजना कार्यालय वीरगंज, पर्साले चासो दिएको छैन ।
सो सडकको ५ दर्जनभन्दा बढी स्थानमा खाल्डाखुल्डी भएको, चर्किएको र भत्किएको छ । हुलाकी सडक निर्माण गर्ने ठेकेदार कम्पनीले भत्किएको सडकको अवस्था हेर्नसमेत नआएको जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका स्थानीयहरूले गुनासो गरे । घरअगाडिको सडक वर्ष दिनमैं खराब भएको जीतपुरसिमरा उपमनपा–१६ पिलुवाका विष्णुप्रसाद अधिकारीले बताए ।
भारत सरकारको सहयोगमा सो स्थानको सडक भिस्वा प्रालिले बनाउने जिम्मा पाएको थियो तर सडक निर्माणको क्रममा जग्गाको मुआवजा, सडक अतिक्रमित घरटहरा हटाउने काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनीले बीचमैं काम गर्न छाडेको थियो । त्यसपछि हुलाकी सडक निर्माण सम्पन्न गर्ने नेपाल सरकारले घोषणा गरेपछि नेपाली ठेकेदारहरूले उक्त सडक निर्माण गरेका हुन् । तोकिएको समयभन्दा ढिलै सडक निर्माण गरिए पनि गुणस्तरहीन भएको हुँदा निर्माण सम्पन्न भएको एक वर्ष पनि पूरा नहुँदै सडक बिग्रिएको जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका पत्रकार हरिदेव खरेलले बताए ।
उनले गुणस्तरीय सडक निर्माणका लागि प्राविधिक टोली र ठेकेदार कम्पनीको ध्यानाकर्षण गराएको तर सुनवाइ नभएको आरोप लगाए । सडक अहिलेसम्म सरकारलाई हस्तान्तरण नभएकोले बिग्रिएको सडक ठेकेदार कम्पनीले मरम्मत सम्भार गर्नुपर्नेछ । सडक निर्माणका लागि भारतबाट ल्याइएका करोडौं मूल्यका ग्रेटर, डोजर, लोडर, रोलर, टिपर मोबाइल क्रसरलगायतका मेशिन, औजार पिलुवाको वनक्षेत्रमा अलपत्र छन् ।
सडक क्षमताभन्दा बढी भारवहनका सवारीसाधन गुड्नाले सडक भत्किएको बताइन्छ । सो सडक भएर गुड्ने सवारीसाधनहरू दुर्घटनामा पर्ने गरेको स्थानीयले बताए ।