नयाँ दिल्ली, ९ असार/पिटिआई
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ । त्यसैगरी, कुल सङ्क्रमितको सङ्ख्या भने तीन करोडभन्दा बढी पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।
कुल सङ्क्रमितमध्ये पछिल्ला एक करोड पछिल्लो ५० दिनमा थपिएको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २८ हजार २०९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भने ५० हजार ४ जना सङ्क्रमित थपिएको मन्त्रालयका अधिकारीहरूले बुधवार जानकारी दिएका छन् । सोही अवधिमा भारतमा कोरोनाका कारण एक हजार ३५८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म मृत्यु हुने कुल सङ्क्रमितको सङ्ख्या भने तीन लाख ९० हजार ६६० पुगेको छ ।
महामारी अन्त्य नभएको र मृत्यु हुनेक्रम नरोकिएकाले कुल मृतकको सङ्ख्या केही दिनमा चार लाख पुग्ने देखिएको छ । भारतमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमित र मृतकको सङ्ख्या घट्दै गइरहेको छ ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५४ लाख २४ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामैं रहेकाहरूको कुल सङ्ख्या छ लाख ४३ हजार १९४ रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या पनि अहिले कम हुँदै गएको हो ।
त्यसैगरी, पछिल्लो एक दिनमा भारतमा १९ लाख एक हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल ३९ करोड ५९ लाख ७३ हजार १९८ पटक परीक्षण भएको छ । रासस