प्रस, मकवानपुर, ८ असार/
मकवानपुरमा कोरोना सङ्क्रमणमुक्त हुनेभन्दा पनि नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या बढेको देखिएको छ । मङ्गलवारको परीक्षण रिपोर्टले जिल्लाको अवस्था यस्तो देखिएको हो ।
जिल्लामा मङ्गलवार ११३ जना कोरोनामुक्त भएका छन् भने १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार मङ्गलवार ९४ जनाको पिसिआर परीक्षण गरिएकोमा ४३ जनामा सङ्क्रमण फेला परेको छ ।
त्यसैगरी १८२ जनाको एन्टिजेन परीक्षणबाट ७७ जनामा सङ्क्रमण देखिएको र दुवै परीक्षण गरी एकै दिन १२० जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट २७६ जनामा कोरोना परीक्षण गरिएको थियो । पछिल्लोपटक कोरोना सङ्क्रमण नियन्त्रणमा आएको भनिए पनि मकवानपुरको अवस्था खासै सन्तोषजनक नभएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । मङ्गलवारको रिपोर्ट अनुसार सङ्क्रमणदर ४३ प्रतिशतभन्दा बढी देखिएको छ ।